नेपाली टोलीको माल्दिभ्सको खेलसँग सन्तुष्ट छु : खेलकुदमन्त्री गहतराज

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाली खेलाडी सिप र क्षमतामा सुधार हुँदै गएको बताएका छन् । ‘सबै खेलाडीको क्षमतामा सुधार हुँदै गएको छ,’ रिपोटर्स क्लबमा भएको पत्रकार भेटघाटमा मन्त्री गहतराजले भने, ‘सबै खेलमा नेपालले राम्रो गर्दैछ ।’

साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले गरेको प्रदर्शन यसको उदाहरण भएको मन्त्री गहतराजको भनाइ छ । नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, ‘माल्दिभ्समा नेपाली टोलीले जस्तो खेल खेल्यो, त्यो सन्तोषजनक थियो ।’

यसअघि पनि पटक–पटक विजेता बनिसकेको भारतलाई लामो समयसम्म गोल गर्न नदिनुसमेत नेपाली टोलीको सफलता भएको बताउँदै मन्त्री गहतराजले खुसी व्यक्त गरे । ‘नेपालले एकदमै राम्रो खेल खेलेको थियो,’ मन्त्री गहतराजले भने, ‘भारतलाई लामो समयसम्म गोल गर्न नदिनु पनि सफलता नै मान्नुपर्छ ।’

नेपाली खेलकुद जगत् अहिल्यै चिन्ता गरिहाल्नुपर्ने अवस्थामा नपुगेको मन्त्री गहतराजको दाबी थियो । आफ्नो नेतृत्वले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रण गर्दै मन्त्री गहतराजले भने, ‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्ने नारालाई स्मरण गर्दै यसमा क्षेत्रमा लगानी गरियो भने नेपालले अझै प्रगति गर्न सक्छ । अब मेरो नेतृत्वमा राम्रो काम हुन्छ । यसमा तपाईंहरू ढुक्क रहनुस् ।’

मन्त्री नियुक्त भएपछि गहतराज अहिलेसम्म ३ पटक मन्त्रालय पुगेका छन् । अब दसैँलगत्तै अध्ययन अनुसन्धान गर्दै यस क्षेत्रको विसका लागि आफू लाग्ने मन्त्री गहतराजले बताए ।

यसअघि शनिवार राति नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत भारतसँग फाइनल खेल खेलेको थियो । पहिलो पटक फाइनल पुगेको नेपालले ७ पटकको विजेता भारतसँग ३–० को पराजय भोगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *