बिदाको कथा ‘इतवार’

काठमाडौँ । दसैँ बिदाको समय चल्दैछ । बिदा त भन्नुमात्रै‚ व्यस्तता अझ बढ्दो छ । नेपालीहरूको महान् पर्व विजया दशमीको तयारी चल्दै गर्दा मध्यम वर्गीय परिवारलाई दसैँ‚ दसैँ नभएर दशा बन्ने गर्छ । ‘सानो हुँदा मात्रै चाडबाड रमाइलो’ अधिकांश परिवारको जिम्मेवारी सम्हालेर बसेका मानिसले एक न एक पटक गर्ने दुखेसो हो यो ।

आर्थिक बोझमात्रै नभएर शारीरिक रूपमा समेत काम थपिने गर्छ । बाँकी समय सहरमै बसेर गुजारा चलाउनेहरू समेत दसैँमा घर जाने गर्छन् । घरको सरसफाइ र लिपपोतले पनि थकान बढ्छ । कामकाजी मानिसलाई वर्षभरिकै लामो बिदामा समेत कामको चपेटोले छाड्दैन ।

यो त भयो लामो बिदाको कुरा । हप्तामा एक दिन हुने बिदाको चर्चा गर्दा पनि त्यस्तै हुन्छ । बिदा त भन्नुमात्रै, अझ बढी काममा दिन बित्छ । मेरो आफ्नै कुरा गर्दा मैले हप्तामा एक दिन ‘आइतबार’ बिदा पाउने गर्छु । के हुन्छ त त्यो दिन ? बिहान सबेरै फोहोरको गाडी आउँछ । अन्य दिन दिउँसो आउने गाडी आइतबार बिहान नै आउँछ ।

बिदा नभनी आँखा मिच्दै ओछ्यान छाडेर हप्ताभरि जम्मा भएको फोहोर बोकेर बिहानै सडकमा निस्किनुपर्छ । हप्ताभरिको फोहर कपडा २ बाटा दाँत देखाएर खिस्स हाँसिरहेको हुन्छ । बेवास्ता गर्न मिलेन । सात दिनमा किचन स्लेटमा जमेको चिल्लोको व्यथा अर्कै छ ।

त्यही दिन ‘हप्ताभरि मैले सफा गरेको प्यासेज‚ आज त म केही गर्दिनँ’ भन्ने पल्लो कोठामा बस्ने दिदीको अपेक्षा हुन्छ । अब हप्ताको एक दिनमात्रै पाएको काम ‘नाइँ’ भन्ने कुरै भएन । यस्तै यस्तै अझ व्यस्ततामा बित्छ दिन । साँझ परेपछि याद आउँछ, ओ हो आज त ट्रान्सक्रिप्ट बनाउन बल्खु जानु थियो, ब्लक भएको ब्याङ्कको कार्ड पनि त बनाउनु थियो… ।

हप्ता दिनमा आउने एउटा बिदा यस्तै हो । हो‚ यही एक हप्तामा आइपुग्ने बिदाको विषय समेटेर हिन्दी लघु चलचित्र ‘इतवार’ (आइतबार) तयार भएको छ । मध्यम वर्गीय परिवारको समस्या, घर्किँदो उमेर र बढ्दा समस्याहरूलाई राहुल श्री वास्तवले घर-घरको कथा बनाएर निर्देशन गरेका छन् ।

राहुल श्रीवास्तवको कथा तथा स्क्रिन प्ले रहेको भिडिओमा कुमुद मिश्रा, लुब्ना सलिम र हर्षित सिन्ध्वनीको अभिनय रहेको छ । युट्युबमा रहेको यो भिडिओ तपाईँको जीवनमा हुने घटनासँग पनि पक्कै जोडिनेछ ।

‘इतवार’ भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *