मानसिक रुपमा स्वस्थ रहन स-साना कुरामा ध्यान दिऔँ : रिसाल

आफू स्वस्थ रहँदासम्म मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने चलन छ । मानसिक स्वास्थ्यमा समस्या आउँछ‚ अनि अस्पताल र मनोविमर्शकर्तासम्म पुग्ने गरिन्छ । तर, समस्या आउनुअघि नै सामान्य कुरामा ध्यान दिन सके मानसिक रुपमा स्वस्थ रहन सकिन्छ । हामीले यो कुरामा चाहिँ अझै पनि ध्यान दिन सकेका छैनौँ ।

मानसिक स्वास्थ्यको सिनारियो
प्राकृतिक प्रकोप, महामारीपछि मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै जान्छन् । भूकम्पपछि डिप्रेसन र एन्जायटीका बिरामी ह्वात्तै बढेका थिए । त्यो तुलनामा पछि बिरामी घट्दै गए । कोरोना महामारीपछि फेरि मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै गएका छन् । यस्तो महामारीले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि उच्च असर पार्छ ।

कोरोनाका कारणले आफ्नै नजिकका व्यक्तिहरू संक्रमित हुँदा पनि माया एकदम लाग्ने‚ तर केयर गर्न नपाएकाले एन्जायटी र डिप्रेसन भएका बिरामी बढेका छन् । अनि आफैँलाई संक्रमण होला भन्ने डरले मनोविमर्शकर्तासम्म आइपुगेका बिरामी पनि धेरै थिए । कोरोनाको जोखिम उच्च भएका बेला कोरोनाका कारण मृत्यु भएमा मेरो शव कसैले छुँदैन, मेरो शवलाई फूलमाला लगाइदिएर सम्मानका साथ घाटमा लगिँदैन, कसैलाई छुन नदिई प्याक गरेर अन्त्येष्टि गरिन्छ, मेरा मलामी हुदैनन् भन्ने चिन्ताले एन्जायटीको उच्च बिन्दूमा पुगेर मनोविमर्शका लागि आउने बिरामी पनि भेटिए ।

त्यो बाहेक भविष्यप्रतिको चिन्ता, लागुऔषध, मदिरा र प्रेम सम्बन्धका कारण डिप्रेसनमा पुग्नेको संख्या पनि धेरै छ । पछिल्लो समय विदेशबाट फर्किएर के गर्ने भन्ने तनावका कारण डिप्रेसन र एन्जायटीमा पुगेकाहरू पनि मनोविमर्शका लागि आउने धेरै छन् । सबैभन्दा अनौठो चाहिँ पहिला एन्जायटी भएर निको भइसकेको‚ तर मलाई फेरि एन्जाइटी होला भन्ने तनावले एन्जाइटी भएर मनोविमर्शका लागि आउनेहरू पनि थुप्रै भेटिनुहुन्छ । आफूलाई सफल जस्तो लाग्ने अरु कुनै व्यक्तिसँग तुलना गरेर डिप्रेसन र एन्जायटीको अवस्थामा पुग्ने व्यक्तिहरू पनि धेरै छन् ।

मानसिक रुपमा स्वस्थ कसरी रहने ?
पहिलो कुरा त हामीले आफ्नो दैनिकीमा नै ध्यान पुर्‍याउनुपर्छ । स्वस्थ र पोषणयुक्त खाना खानुपर्छ । हामीले खाने खाना स्वस्थकर नभएमा मानसिक स्वास्थ्य बिस्तारै बिग्रिँदै जान्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको निद्रा हो । मानव शरीरलाई प्रशस्त आरामको आवश्यकता पर्छ । यदि निद्रामा समस्या आयो भने सबैभन्दा पहिले मानसिक स्वास्थ्यमा गडबड हुन्छ । सुत्ने समय तालिका बनाएर समयमै सुत्नुपर्छ । खाना खाँदा सागपात र फलफूल बढी मात्रामा खानुपर्छ । यसले मानसिक स्वास्थ्य बलियो बनाउनुका साथै शरीरलाई सकारात्मक ऊर्जा दिन्छ ।

दैनिक रुपमा योग र व्यायाम गर्नुपर्छ । शरीरलाई व्यायाम भएन भने व्यक्ति सजिलै मानसिक रोगको शिकार हुन पुग्छ । घरको सानोतिनो काममा आफूलाई व्यस्त राख्नुपर्छ । बगैँचाको काम, घर सफा गर्ने, लुगा धुने, भान्छामा काम गर्ने आदि गर्नाले शरीर फुर्तिलो रहनुका साथै मानसिक रुपमा समेत स्वस्थ रहन सकिन्छ । मानसिक स्वास्थ्यका लागि श्वासप्रश्वाससम्बन्धी व्यायाम गर्नु अति आवश्यक हुन्छ । यस्ता स-साना कुरामा ध्यान पुर्‍याउने हो भने मानसिक रुपमा स्वस्थ रहन सकिन्छ ।

(नेसनल इन्स्टिच्युट अफ साइकोएजुकेसनल काउन्सिलिङमा आवद्ध रिसालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *