पोखरेल भन्छन्- ‘महासचिवमा दोहोरिन्नँ’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आफू फेरि महासचिव नबन्ने बताएका छन् । ‘म दुई पटक एमालेको महासचिव भइसकेँ,’ आइतबार (आज) काठमाडौँमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘तपाईंहरूलाई स्पष्ट भन्छु, अब म महासचिवमा दोहोरिन्नँ ।’

अबको आफ्नो भूमिका के हुने, कस्तो हुने भन्नेबारे ‘टीम’ मा भर पर्ने उनको भनाइ छ । यसैबीच उनले नेतृत्वमा कुनै हानथाप नहुनेसमेत स्पष्ट पारे । पोखरेलले अब आफू के बन्ने भन्नेबारे भने स्पष्ट बोलेनन् । ‘नेतृत्वका लागि कुनै हानथाप हुँदैन,’ पोखरेलले भने, ‘नेतृत्व चयन लोकतान्त्रिक पद्धतिबाट हुन्छ ।’

एमालेले आगामी मंसिरमा लुम्बिनीमा नेतृत्व चयनका लागि दशौं राष्ट्रिय महाधिवेशन हुँदैछ । जहाँ, पोखरेलले वरिष्ठ उपाध्यक्ष खोजेको बताइएको छ । अध्यक्ष वर्तमान अध्यक्ष केपी शर्मा ओली नै हुने सम्भावना उच्च छ ।

उनले आफूले ‘एमालेलाई बहुमत दिलाएर मात्रै नेतृत्वबाट बिदा हुने’ भनेर उद्घोषसमेत गरिसकेका छन् । गत असोज १७ गते सम्पन्न विधान महाधिवेशनले उनकै अनुकूल हुनेगरी व्याख्या गरेको छ । जहाँ भनिएको छ— ‘७० वर्ष नपुगुन्जेलसम्म एमाले नेतृत्वको कुनै पनि पदका लागि उम्मेवार बन्न पाउने, यदि बीचमै ७० वर्ष पुगे निर्वाचित पदाधिकारीले पूरै कार्यकाल काम गर्न पाउनेछन् ।’

ओली आगामी फागुनमा ७० वर्ष पुग्दैछन् । मंसिरमै नेतृत्व महाधिवेशन गरेर आफू पुनः अध्यक्ष बन्ने ओलीको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *