साफ च्याम्पियनसीप : यस्तो छ नेपालको फाइनल समीकरण

काठमाडौँ । साफ च्याम्पियनसीप फुटबलमा नेपाल अहिले ऐतिहासिक प्रदर्शन गरिरहेको छ । साफको इतिहासमा नेपाल एक दुर्लभ उपलब्धिभन्दा केवल दुई अङ्क टाढा छ । अर्थात् नेपालले अब खेल्न बाँकी दुई खेलमा कुनै एकमा जित या दुवै खेलमा बराबरीमात्र गरे पनि साफ च्याम्पियनसीपको इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ ।

नेपाल अहिलेसम्म जारी साफमा अन्य प्रतिस्पर्धीभन्दा अघि छ । दुईमध्ये दुवै खेल जितेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल मैदानमा नेपालको प्रदर्शन उम्दा छ । आयोजक माल्दिभ्सलाई हराएर शानदार सुरूवात गरेको नेपालले श्रीलंकासँग हाइस्कोरिङ खेलमा तीन गोल गर्‍यो । यसको अर्थ सधैँ आलोचना खेप्दै आएको नेपाली फ्रन्टलाइनले फिनिसिङका लागि अब तयार छ भन्ने सन्देश दिएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको फुटबल क्रेज एकातिर रहँदा मैदान बाहिरको राजनीतिले धेरैको नजर तानेको थियो । उनी नेपालको सर्वाधिक सफल प्रशिक्षकको रुपमा स्थापित हुन चाहन्छन् । र उनी त्यसतर्फ अग्रसर पनि देखिएका छन् । त्यसको निर्णय भने सम्भवतः आइतबार माल्दिभ्समा खेलिने खेलले धेरै हदसम्म तय गर्नेछ ।

अब भारतलाई हराए एक खेलअघि नै नेपाल फाइनल पुग्नेछ । भारतलाई बराबरीमा रोके फाइनल यात्रा थप सहज हुनेछ । यदि भारत र नेपालले बराबरी खेले र अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएमा पनि नेपाल एक खेल अघि नै फाइनल पुग्नेछ । तर, नेपाल आफ्नै बलबुताले फाइनल पुग्न चाहन्छ ।

२ खेलबाट ६ अंक भएको नेपाल अङ्क तालिकामा शीर्ष स्थानमा छ । ३ खेलबाट ४ अङ्क जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा माल्दिभ्स भने २ खेलबाट एक जित निकाल्दै ३ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । श्रीलंकाका लागि भने भारतसँगको बराबरीबाट प्राप्त एक अङ्कमात्र छ ।

१३ अक्टोबरमा नेपालले समूहचरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । यो खेल हारेको अवस्थामा नेपालको भाग्यको फैसला सोही दिन हुने भारत र माल्दिभ्सको खेलले पनि तय गर्नेछ ।

समग्रमा नेपाल भारतसँग पराजित भएमा र आइतबारको अर्को खेलमा माल्दिभ्सले श्रीलंकालाई हराए फाइनल पुग्ने समीकरण थप रोमाञ्चक हुनेछ । त्यस्तो अवस्थामा तीन खेलबाट भारतको ५, माल्दिभ्सको ६ र नेपालको पनि ६ अंक नै हुनेछ । तर यस्तो नतिजा आएमा र अन्तिम खेलमा पनि नेपालले बंगलादेशसँग हार व्यहोरेमा र माल्दिभ्सले भारतसँग बराबरी खेलेमा नेपाल फाइनल पुग्नबाट वञ्चित हुनेछ । यस्तो अवस्थामा माल्दिभ्स र बंगलादेशले फाइनल खेल्नेछन् ।

तर भारतसँग पराजित भएमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि फाइनल पुग्ने सम्भावना कायमै रहन्छ । माल्दिभ्सले श्रीलंकालाई हराएको अवस्थामा र भारतसँग उसले बराबरी खेलेको अवस्थामा तीन टोलीको समान ७ अंक हुनेछ । त्यस्तो अवस्थामा गोलअन्तरका आधारमा शीर्ष दुई टोलीको निर्क्योल हुनेछ ।

फाइनलको सम्भावनामा बाँकी दुवै खेल गुमाएमा मात्र नेपालले अन्य टीमको नतिजाको प्रतीक्षामा पुग्नुपर्नेछ । यद्यपि प्रशिक्षक अलमुताइरी सुरुवाती सफलताले उत्साही छन् । उनले लिएको रणनीति र खेलाडी परिवर्तन सही सावित भइरहेको छ । उनी कम्तीमा दर्शक र समर्थकसामु नेपाललाई अन्य टीमको खेल कुरेर फाइनल पुग्ने अवस्था नआओस् भन्नेमा सचेत छन् । यद्यपि भारत र बंगलादेश जारी साफमा उपाधि दाबेदार मानिएका छन्‚ त्यसैले पनि नेपालले संयमित भएर मैदानमा उत्रिनुपर्ने कुरालाई अल्मुताइरीले पक्कै बिर्सने छैनन् ।

-तस्बिर : एन्फा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *