ईपीएलको फाइनल आज : को बन्ला नयाँ च्याम्पियन ?

काठमाडाैँ । काठमाडौँमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेल आज हुँदै । यो छोटो संस्करणले यो पटक नयाँ विजेता पाउने पक्का भएको छ ।

शनिबार टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच १२:१५ मा फाइनल खेल सुरु हुने छ । दुवै टिमले यसअघि पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेका थिए। जहाँ चितवनले प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । यद्यपि पोखराले दोस्रो क्वालिफायरमा भैरहवालाई पराजित गर्दै फाइनल पुग्न सफल रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दुवै पहिलो पटक उपाधि जित्न चाहन्छन् । चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले विगत नहेर्ने बताए । उनले भने ‘फाइनल खेल हो तर फाइनल भन्दा पनि एउटा खेलको रूपमा यसलाई लिन्छु ।’ उनले फाइनलको प्रेसर लिएर भन्दा पनि आफूलाई प्रमाणित गर्ने हिसाबले प्रतिस्पर्धा गर्ने बताए ।

पोखराका कप्तान विनोद भण्डारीले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताए । उनले भने ‘फाइनल खेलमा लिगमा के भएको थियो भन्ने कुराको महत्त्व हुँदैन। जुन टिमले राम्रो खेल्ने त्यहीँ टिमले जित्छ ।’ उनले फाइनलमा पुगेका दुवै टीमले राम्रो प्रदर्शन गरेका कारण सम्भव भएको भन्दै टीमले जतिसक्दो राम्रो खेल्ने प्रयास गर्ने बताए ।

जारी सिजनमानै समूहचरण र क्वालिफायर भिडन्तमा चितवन सँग पराजित पोखरा दुवै खेलमा भोगेको हारको बदला फाइनलमा लिने विश्वासमा छ । तर चितवनको उत्कृष्ट लय तोड्न मुस्किल छ । यो सिजन चितवनकै खेलाडी सर्वाधिक रन बनाउने तथा विकेट लिनेमा अग्रस्थानमा रहेका छन् । चितवनका अफगानी खेलाडी मोहमद्ध साहजादले ६ इनिङमा सर्वाधिक १९६ रन बनाएका छन् ।

त्यस्तै चितवनका सागर ढकाल सर्वाधिक विकेट टेकरका रूपमा छन् । उनले ६ इनिङमा १३ विकेट लिएका छन् । त्यस्तै दोस्रो स्थानमा चितवनका करिम जनत ९ विकेट सहित दोस्रो स्थानमा छन् । उत्कृष्ट पाँचमा चार खेलाडी चितवनका छन् । त्यसैले ब्याटिङ र बलिङ दुबैमा चितवन अब्बल देखिन्छ ।

३५ लाखको भिडन्त
पोखरा चितवनबिचको फाइनल भिडन्तले ३५ लाखको छिनोफानो हुने छ । अर्थात् यो खेलको विजेताले ५० लाख प्राप्त गर्दा उपविजेताले केवल १५ लाख मात्रै पाउने छ । त्यसैले दुवै टिमको यो एक खेल ३५ लाखको लडाइँका रूपमा रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *