दूरी बढ्दै प्रचण्ड-प्रकाश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दलगत अवसर तथा अनुकूलतामा फरक नीति अख्तियारी गरेको विश्लेषण उनीनिकट नेताहरूले गर्न थालेका छन् । उनीहरूका अनुसार प्रचण्डले सशस्त्र विद्रोहमा लागेका र पछि पार्टीमा प्रवेश गरेका नेताहरूबीच ‘सकारात्मक विभेद’ गर्न थालेका छन् ।

यही विश्लेषण भइरहेको बेला प्रचण्डले पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई हटाए र कृष्णबहादुर महरालाई प्रवक्ता बनाए । माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको नाम तय गर्दा पनि श्रेष्ठ पक्षका कोही पनि नेताले मौका नपाउने भएका छन् । यसअघि हरेकपटक जसो श्रेष्ठ स्वयम् वा उनी पक्षका गिरीराजमणी पोखरेल मन्त्री बन्दै आएका थिए ।

केही दिनअघि मात्र माओवादीको उच्च स्रोतले पार्टीको विदेश विभाग गठन गरेको सूचना ‘लिक’ गर्‍यो । जसमा सुरेन्द्र कार्कीलाई विदेश विभागको प्रमुख बनाइएको उल्लेख थियो । भोलिपल्ट श्रेष्ठले त्यो सूचना गलत भएको सामाजिक सञ्जालमा दाबी गरे ।

प्रचण्डनिकट तथा विद्रोहका बेला माओवादी सेनाको बिग्रेड कमान्डर रहेका एक नेताले मकालुखबरसँग भने, ‘यसलाई स्वभाविक रूपमा लिनुपर्छ । पार्टीमा हरेक जिम्मेवारी, अवसर र भूमिका भनेको पार्टी निर्माण, योगदान र पार्टीका एजेण्डाहरू स्थापित गर्नमा कति भूमिका खेलेको छ त्यसकै आधारमा दिइने हो । माओवादी केन्द्रमा यो नीति पहिलेकै हो ।’

माओवादी केन्द्रमा नारायणकाजी दोस्रो वरीयताका नेता हुन् । तर, पछिल्लो समय प्रचण्डको विश्वास पात्रका रूपमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरू देखिएका छन् । प्रचण्डले यी नै नेताहरूसँग बढी सरसल्लाह गर्न थालेका छन् ।

प्रचण्डले नारायणकाजीबाट खोसेको प्रवक्ता पद कृष्णबहादुरलाई दिलाएका छन् भने जनार्दनलाई अर्थ मन्त्रालय दिएर सरकारमा पठाएका छन् । जनार्दन पार्टीमा मुख्य मानिने संगठन विभाग प्रमुखसमेत छन् । वर्षमानलाई प्रचण्डले आफ्नै ‘उत्तराधिकारी’ को रूपमा हेरेको कतिपयले विश्लेषणसमेत गर्न थालेका छन् । श्रेष्ठ प्रवास कमिटी इन्चार्जमा सीमित भएका छन् ।

माओवादी केन्द्रमा नारायणकाजी दोस्रो वरीयताका नेता हुन् । तर, पछिल्लो समय प्रचण्डको विश्वास पात्रका रूपमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरू देखिएका छन् । प्रचण्डले यी नै नेताहरूसँग बढी सरसल्लाह गर्न थालेका छन् ।

प्रवक्ताको जिम्मेवारीबाट हटिसकेपछि श्रेष्ठले प्रचण्डप्रति कटाक्ष गर्दै मकालुखबरसँग भनेका थिए‚ ‘हिजो नि त्यही कुरा । आज नि त्यही कुरा अनि भोलि पनि त्यही कुरा,’ श्रेष्ठले भनेका थिए, ‘अनि संगठन कहाँ हो । पार्टी कहाँ हो । नेता/कार्यकर्ता पनि दिक्क । जनता पनि दिक्क ।’

यी यावत् प्रकारका राजनीतिक परिघटनाका कारण प्रचण्ड र नारायणकाजीबीचको सम्बन्ध चिसिँदै गएको छ । यसबारे गरिएको प्रश्नमा एक माओवादी नेता प्रतिप्रश्न गर्छन्, ‘तपाईँहरूले कस्तो देख्नुभयो ?’ ती नेताका अनुसार पछिल्लो समय प्रचण्ड-नारायणकाजीबीचको सम्बन्ध त्यति सुमधुर छैन । भन्छन्‚ ‘त्यस्तै देखिन्छ । होला त । तर, यसलाई ठूलो रूपमा लिनुहुँदैन । स्वाभाविक हो ।’

प्रचण्ड र नारायणकाजीबीचको व्यक्तिगत तिक्तता सतहमै देखिन थालेका छन् । यसको परपुष्टि मंगलबार सुनसरीको दृश्यले गर्छ । त्यहाँ प्रचण्ड समूह र नारायणकाजी समूहबीच विवाद बढ्दा प्रदेश कार्यालयमा समेत तालाबन्दी भएको छ । यसलाई केन्द्रीय मुडभेदकै रूपमा अर्थ्याइएको छ ।

प्रचण्डले पछिल्लो आफ्नो राजनीतिक सम्बोधनहरूमा बढी नै नैराश्यता देखाउन थालेका छन् । गतहप्ता मात्रै राजधानीमा एउटा कार्यक्रममा प्रचण्डले नेतृत्व लिने ढङ्ग भएको नेता पार्टीमा भए आफूले राजीखुसीले नेतृत्व हस्तान्तरण गर्ने र आफू किताब लेखेर बस्ने बताए । ‘नेतृत्व हस्तान्तरण गर्ने र आफू किताब लेखेर बस्न मन छ मलाई,’ प्रचण्डले भनेका थिए, ‘तर यसो हेर्छु । अहँ कसैले गर्दैन । त्यो पारा नै देखाउँदैनन् ।’ प्रचण्डको यो असन्तुष्टिको तुरुप नारायणकाजीलगायतका नेताहरूप्रति रहेको बताइन्छ ।

नारायणकाजी पछिल्लो गठबन्धनको सरकारमा आफ्नो नेतृत्वमा पार्टी सरकारमा सहभागी हुनुपर्ने भन्दै जिद्दी गर्दै आएका नेता हुन् । सत्तारुढ गठबन्धनको सबै बैठकहरूमा सहभागी हुँदै आएका नारायणकाजीले प्रचण्डसँग उपप्रधानसँगै परराष्ट्रमन्त्री माग्दै आएका थिए । तर, प्रचण्डको सकारात्मक प्रतिक्रिया नपाएपछि नारायणकाजीको ‘चिढ्याइँ’ थप बढेको हो ।

प्रचण्डले अहिले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नामको सूचीमा नारायणकाजीको नाम अटाएका छैनन् । समावेशी ढङ्गबाट मन्त्री बनाउने भन्दै प्रचण्डले केही नयाँ तथा केही पुराना अनुहारलाई अवसर दिए ।

राजदूतलाई समेत समेटेर बनाइएको सूचीमा पूर्वपरराष्ट्रमन्त्री नै रहेका श्रेष्ठ नहुनुले पनि उनलाई माओवादी केन्द्र मित्र भूमिकाविहीन बनाउँदै लगिएको दर्साउँछ ।

यसैबीच मंगलबार साँझ माओवादी विदेश मामिला विभाग गठन भएको समाचार बाहिरियो । राम कार्कीको अध्यक्षतामा गठन भएको भनिएको विभागमा समेत नाराणकाजी छैनन् । ३१ सदस्यीय विभागमा ‘हेभीवेट’ पूर्वप्रशासक तथा राजदूतसमेत हुँदा नारायणकाजी भने छैनन् ।

सञ्चारमाध्यमले विभाग गठनको समाचार छ्यापछ्याप्ती बनाएपछि सामाजिक सञ्जालमा उनले लेखे‚ ‘नेकपा (माओवादी केन्द्र)को विदेश विभाग गठन भएको र त्यसमा विभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो । पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

नेता कार्कीले माओवादीप्रति आस्था राख्ने कूटनीतिज्ञहरूलाई समेटेर सूची भने बनाइएको बताए । तर, त्यो सूची पूर्ण वा अन्तिम सूची नरहेको उनले मकालुखबरलाई जानकारी दिए । ‘बाहिर समाचारहरू आए । हामीसँग डिप्लोम्याट कति छन्, हामीप्रति सहानुभूति राख्नेहरू कति छन् भनेर एउटा सूची र पहिले विदेश विभागमा रहेका साथीहरूको अर्कै सूची बनाएर त्यो कार्यदलमा दिएका थियौँ । त्यहीँबाट आयो होला,’ कार्कीले भने ।

राजदूतलाई समेत समेटेर बनाइएको सूचीमा पूर्वपरराष्ट्रमन्त्री नै रहेका श्रेष्ठ नहुनुले पनि उनलाई माओवादी केन्द्र मित्र भूमिकाविहीन बनाउँदै लगिएको दर्साउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *