खुला सीमाले स्थानीयमा त्रास : प्रहरी मारिने ठाउँमा कसरी होस् सुरक्षाको प्रत्याभूति ?

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १० मोहना नदी किनारमा एक प्रहरी जवासहित प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या भएको यही असोज ३० गते एक वर्ष पुग्दैछ ।

गोरु गाडामार्फत् केराउ भारततिर तस्करी गरिरहेका सूचना पाएपछि नियन्त्रणमा लिन भन्दै मध्यराति सीमा क्षेत्रमा गएका दुवै जना सोही रात उल्टै तस्करकै सिकार बने । तस्करीले सुरक्षार्थ खटिएका प्रहरी जवान राम साउँद र असई विकको हत्या गरेर केराउ भारततिर पुर्‍याए ।

पछिल्लो दिन असई विक हत्या गरिएको अवस्थामा नदीमा पानीमुनि भेटिए । त्यतिबेलासम्म प्रहरी जवानको अवस्था अज्ञात थियो । त्यसैक्रममा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लियो । उनीमाथि गरिएको अनुसन्धानबाट प्रहरी जवान साउँद पनि अर्को दिन मोहना नदीमै पानीमूनि खाल्डो पारेर गाडेको अवस्था भेटिए ।

घटनामा संलग्न तस्करलाई घटनास्थलमै लिएर प्रहरीले जवान साउँदको शव निकाल्यो । अनुसन्धानबाट उनीहरू भारतीय तस्करसँग मिलेर व्यापारिक सामानहरू ओसारपसार गर्दै आएका थिए । प्रहरीले त्यो कार्य रोक्न खोज्दा ज्यान गुमाउनुपर्‍यो ।

जनताको सुरक्षार्थ खटिएका प्रहरी नै तस्करबाट मारिएपछि त्यसयता स्थानीय जनतामा त्रास फैलिएको छ । एक वर्षअघि भएको उक्त घटनाले स्थानीयमा त्रास कायमै छ । ‘खुला सीमाना छ, हामीलाई सुरक्षा जोखिम त छ नै,’ स्थानीय पुस्करराज रानाले भने, ‘सुरक्षाकर्मी नै मारिने ठाउँमा जनता कसरी सुरक्षित हुन सक्लान् ?’

उनले खुला नाकामा डेढदेखि दुई किलोमिटरको दूरीमा प्रहरीका अस्थायी पोस्ट राखेमात्रै जनताले सुरक्षाको अनुभूति गर्नसक्ने बताए । गतवर्ष प्रहरीको हत्या भएयता त्यस्तो डरलाग्दो घटना नभएपनि जनतामा एक खालको त्रास भने कायमै रहेको उनी बताउँछन् ।

सीमामा बस्ने जनताले सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै उनी भन्छन्, ‘सीमाबासीले आफ्नो सुरक्षा आफैँ गर्नुको विकल्प छैन ।’ खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करीमा सीमा क्षेत्रका मात्रै नभई अन्यत्रका मानिसहरू पनि संलग्न भइरहेका छन् भने त्रास स्थानीयले खेपिरहेका छन् ।

सीमाबासी भएकै कारण पनि असुरक्षाको जोखिम भोग्न बाध्य हुनुपरेको स्थानीय मनिराम रानाले बताए । ‘एक वर्षयता देखिने गरी कुनै घटना त भएको छैन,’ उनले भने, ‘तर लुकिछिपी चोरी तस्करी भई नै रहेको छ । यसले हामीलाई नै बढी असर पुग्छ ।’

नाका भन्दा डेढ दुई किलोमिटरभित्र रहेका सशस्त्र प्रहरीका बीओपी र प्रहरीले अझै सीमा नाकामा सुरक्षाको प्रत्याभूति दिन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार व्यापारिक सामानहरु नै खुला नाकाबाट तस्करी हुने गरेको र त्यसमा सीमा क्षेत्रमा बस्ने व्यक्तिहरूलाई प्रयोग गर्ने गरिएको छ ।

वडा नम्बर १० का वडाध्यक्षसमेत रहेका राजेश राना तस्करीमा ठूला-ठूला व्यापारीलगायतको संलग्न हुने गरेको भएपनि त्यसको जोखिम सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेको बताउँछन् । ‘खुला सीमा नाका भएका कारण चोरी तस्करीका क्रियाकलाप भइरहन्छन्,’ उनले भने, ‘तर त्यस्ता कार्यमा स्थानीय भन्दा पनि अवैध रुपमा काम गर्ने बाहिरका व्यक्तिहरूको हात हुने गरेको छ । यसमा सीमा क्षेत्रमा बस्ने युवाहरू परिचालित हुने गरेका छन् ।’

कुनै अवस्थामा सीमा बसेकै कारण पनि तस्करको आरोपमा फस्ने गरेको उनी बताउँछन् । ‘गतवर्ष प्रहरीको हत्या हुँदा पनि सीमा क्षेत्रमै बस्ने युवाहरू पक्राउ परेका थिए,’ उनले भने, ‘तर पछि अनुसन्धानको क्रममा उनीहरूमध्ये केहीको संलग्नता देखिएन र छुटे पनि । सीमाको बस्तीभन्दा पनि केही परका युवाहरुको बढी संलग्नता देखियो । अहिले उनीहरू कारबाही भोगिरहेका छन् ।’ सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सरकारले कसरी हुन्छ सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनको भनाइ छ ।

गतवर्ष असोज ३० गते राति धनगढी उपमहानगरपालिका १२ स्थित प्रहरी चौकीका ईन्चार्ज कञ्चनपुरका गोविन्द्र विक र सोही ठाउँमा कार्यरत अछामको जैगढ बान्नीगढीका प्रहरी जवान राम साउँदको तस्करले हत्या गरेका थिए । उक्त घटनापछि प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको दाबी गरेपनि प्रहरीले खासै ड्युटी गर्ने नगरिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *