मन्त्रिपरिषद्को पूर्णताअघि गठबन्धनको बैठक बस्ने

काठमाडौँ । नेताहरूले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका छन् । तर, त्योभन्दा अगाडि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । गठबन्धनमा रहेका दलहरूमध्ये राष्ट्रिय जनमोर्चाले भने बाहिरै बसेर सरकारलाई सघाउने बताइसकेको छ । यसबाहेक सरकारमा सहभागी हुनेहरू दलहरूमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् ।

दलहरूबीचमा मन्त्रालयीय भागबन्डा टुङ्गिइसकेको छ । यद्यपि दलगत रूपमा कसको नेतृत्वमा सरकारमा जाने वा कुन नेतालाई कुन मन्त्रालय दिनेलगायतका विषयमा दलहरू छलफलरत नै छन् । यसले मन्त्रिपरिषद्‌मा विलम्ब हुने देखिएको छ । तर, नेताहरूले आजै पूर्णता पाउने बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीलगायतका नेताहरूले भने आजै तीन बजेसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने उच्च सम्भावना रहेको बताएका छन् ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ । यो बैठक सकिएलगत्तै सत्तारुढ गठबन्धनको बैठक बस्ने बताइएको छ । यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयीय भागबन्डाबारे छलफल भएर मोटामोटी सहमति भइसकेको छ ।

त्यसक्रममा कांग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चार/चार मन्त्रालय पाउनेगरी सहमति भएको छ । श्रोतकाअनुसार यो संख्यालाई लिएर एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गरेको छ ।

आजको बैठकले यी नै विषयहरूमा निष्कर्ष निकालेर साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *