माओवादीबाहेकका दलले टुङ्ग्याएनन् मन्त्री, आज मन्त्रिपरिषद् विस्तार होला ?

‘३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ’

काठमाडौँ । सत्तारुढ गठबन्धनमा मन्त्रालयीय भागबन्डा टुङ्गिए पनि दलगत मन्त्रीहरू नटुङ्गिँदा मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुने भएको छ । योसँगै आज पनि मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कम छ । दलका नेताहरूले भने आजसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । गठबन्धनको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उस्तै परे आजै मन्त्रिपरिषद्ले पूर्णता दिने बताएका छन् । बिहीबार (आज) बिहान राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने— ‘उस्तै परे आज शपथ ग्रहण हुन्छ । पूर्णता (मन्त्रिपरिषदले) पाउँछ ।’

नेता मेटमणि चौधरी दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने बताउँछन् । एकीकृत समाजवादीको कोटाबाट मन्त्री बन्ने पक्का भएका नेता चौधरीले भने— ‘नेतृत्वहरूले बताएअनुसार आजै ३ बजे मन्त्रिपरिषद् विस्तार हुनेछ । आजको मिति चाहिँ हुने नै मिति हो ।’ यद्यपि अधिकांश दलहरूले मन्त्रीको नामै टुङ्ग्याउन सकेका छैनन् ।
माओवादीले भने आफ्नो दलले पाएको मन्त्रालय बराबरको मन्त्रीको नाम टुङ्ग्याइसकेको छ । माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादव मन्त्री बन्दैछन् । माओवादीबाहेकका दलहरूले मन्त्रीको नाममा सहमति जुटाउनै सकेका छैनन् । यससँगै आज पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुने देखिएको हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले नै मन्त्रीको नाम टुङ्ग्याउन सकेको छैन । मन्त्रीको नाम टुङ्ग्याउन संस्थापन समूह, रामचन्द्र पौडेल समूह र तेस्रो धार कृष्णप्रसाद सिटौला समूह छुट्टाछुट्टै छलफलमा छन् । पौडेल र सिटौला समूहले आफूहरूले पनि मन्त्रालयीय भागबन्डा खोजेका छन् । ७ मन्त्रालय पाएको कांग्रेसले समूहगत मन्त्रालय भागबन्डा गर्न सकिरहेको छैन । पौडेल समूहले उपप्रधानसहित ३ मन्त्रालय आफूलाई हुनुपर्ने बताएको छ भने सिटौला समूहको दाबी पनि फरक छैन । कांग्रेसमा देउवा, पौडेल र सिटौला समूहबीच छलफल भएपनि सहमति जुटिसकेको छैन ।

यस्तै सत्तासाझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको नाम टुङ्ग्याएको भनिएपनि कुन नेतालाई कुन मन्त्रालय दिएर सरकारमा पठाउने भन्नेबारे सहमति जुटिसकेको छैन । एकीकृत समाजवादीले मंगलबार र बुधबार छलफल गरेको थियो । तर, सहमति जुटेन । ४ मन्त्रालय पाएको एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । यसो हुँदा पनि सहमति नजुटेको नेता मेटमणि चौधरीले बताए । भने— ‘मन्त्रीको आकांक्षी धेरै छन् । यसो हुँदा गाह्रो भयो । यसमा अध्यक्ष कमरेडले छलफल तथा आवश्यक कदम चाल्दै हुनुहुन्छ । तर, अब हाम्रोबाट समस्या हुँदैन । सबै मिलिसकेको छ ।’

जनता समाजवादी पार्टी (जसपा) मा पनि मन्त्रीको नाम मोटामोटी टुङ्गिएको भनिए पनि कुन नेतालाई कुन मन्त्रालय दिने भन्नेबारे सहमति जुटिसकेको छैन । अधिकांश दाबेदार नेताहरूले आफूलाई परेकोमध्येको हाइप्रोफाइल मन्त्रालय लिएर सरकारमा जाने बताएको एक नेताले बताए । भने— ‘सहमति जुट्नै गाह्रो भयो । अधिकांशले हाइप्रोफाइल मन्त्रालय दाबी गरेर हैरान । यसो हुँदा अलिक समय लाग्यो सहमति जुट्नलाई । मन्त्री हुनु भनेको ठूलो कुरा रहेछ । भर्खर थाहा पाउँदैछु ।’

गत असार २९ गते प्रधान मन्त्री बनेको शेरबहादुर देउवाले अढाई महिना बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । योसँगै सरकारको आलोचना शुरू भएको छ । यसप्रति मध्यनजर गर्दै सत्तारुढ दलका नेताहरूले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने जमर्को गरेपनि त्यो हुन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *