बलिउड चलचित्र ‘उचाइ’मा परमितासँगै एक दर्जन नेपाली कलाकार

काठमाडौँ । बलिउड चलचित्र ‘उचाइ’ मा नेपाली नायिका परमिता राज्यलक्ष्मी राणा जोडिएकी छन् । राणाले सामाजिक सञ्जालमार्फत् आफू चलचित्रमा जोडिएको जानकारी दिएकी हुन् ।

स्वराज आर बारजात्यले निर्देशन गरिरहेको चलचित्र छायाङ्कनका लागि टिम हाल नेपालमा रहेको छ । यसैका लागि भारतीय अभिनेता अनुपम खेर, परिणिति चोपडा, बोमन इरानीलगायतको समूह नेपाल आएका हुन् । चलचित्र युनिट बुधबार लुक्ला प्रस्थान गरेको छ ।

चलचित्रमा परमितासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ङ्याचो शेर्पा, नीरज मोक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायत नेपाली कलाकारको समेत अभिनय रहनेछ ।

४० दिनसम्म नेपालमा खिचिने बताइएको चलचित्रमा बलिउडका अन्य कलाकार अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, सारिका हसन, नीना गुप्ता लगायतको मुख्य अभिनय रहनेछ । चलचित्र लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा छायाङ्कन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *