एमालेको नयाँ लोगो विवादमा : माओवादीले दाबी विरोध गर्ने, एमाले भन्छ- ‘दाबी पुग्दैन’

काठमाडौँ । नेकपा (एमाले) को पहिलो विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ । असोज १७ गते सम्पन्न महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।

तर, परिवर्तित यो लोगो नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नसँग मिल्दोजुल्दो भएको भन्दै माओवादीले दाबी विरोध गर्ने नेता देव गुरुङले बताए । आफूहरू यसबारेमा छलफलमा रहेको नेता गुरुङको भनाइ छ । ‘समान्यतया अर्को पार्टीको चुनाव चिह्न राख्न पाइँदैन,’ गुरुङले मकालुखबरसँग भने, ‘निर्वाचनसम्बन्धी कानूनले पनि यही भन्छ । माओवादी केन्द्रले दाबी विरोध गर्नसक्छ ।’

यसबारेमा माओवादी केन्द्रले कानूनका जानकारहरूसँग पनि छलफल तथा कानूनी परामर्श गर्ने गुरुङले बताए । ‘यसबारेमा पार्टीमा छलफल भइरहेको छ । हामीले कानूनी परामर्श गर्दैछौँ । तयसपछि दाबी विरोधका कुरा आउँछन् । त्यो गर्न सकिन्छ ।’

एमालेले भने माओवादीको चुनाव चिह्नसँग आफ्नो परिवर्तित लोगो नमिल्ने बताएको छ । नेता सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भने, ‘माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा होइन ।’

यसपछि माओवादी केन्द्रको दाबी नपुग्ने नेता नेम्वाङ्ग बताउँछन् । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले पनि उही दोहोर्याए । भने— ‘पहिलो कुरा हँसिया हथौडा उहाँहरूको चुनाव चिह्न होइन । हँसिया अथौडा भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन नि । दोस्रो त, हँसिया हथौडा कम्युनिष्ट सबै पार्टीहरूको साझा झण्डा हो । उहाँहरूले कसरी दाबी गर्नुहुन्छ ?’

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर, महाधिवेशनले नयाँ लोगो पारित गरेको छ । यही एमालेको लोगो विवादमा परेको हो ।

एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो ।

यस्तो छ एमालेको परिवर्तित नयाँ लोगोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *