सेलिब्रेटी वकिल सतीश मानेशिन्दे

काठमाडौँ । जब बलिउडमा ठुलो विवाद हुन्छ, सतीश मानेशिन्देको नाम धेरै सुनिन्छ । केही हाई प्रोफाइल केसहरू सफल बनाएसँगै उनी धेरै सेलिब्रेटीको रोजाई मात्रै बनेका छैनन् उनी आफै पनि सेलिब्रेटी वकिलको रूपमा परिचित छन् ।

आर्यन खान केसदेखि रिया चक्रवर्ती ड्रग केस र सलमान खानको मादक पदार्थ सेवन गरी सवारी चलाएको केससम्मका कलाकारलाई उनैले बचाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सतीश सबैभन्दा महँगा वकिलमध्येका पनि हुन् । उनी एक दिनको शुल्क नै १५/२० लाख भारतीय रुपैयाँ लिन्छन् । सतीशले १९८३मा भारत कै प्रसिद्ध दिवङ्गत वकिल राम जेठमलानीसँग आफ्नो करियरको सुरु गरेका थिए ।

शाहरुख पुत्र आर्यनको लागू औषध मुद्दा
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शाहरुख खानका छोरा आर्यनलाई अक्टोबर २ मा क्रुज ड्रग्सको छापामा पक्राउ गरेपछि शाहरुखले सतीशलाई आफ्नो छोराको वकिल नियुक्त गरे । वकिलले लागू औषधका ग्राहकले आर्यनलाई क्रुजको कार्यक्रममा पाहुनाको रूपमा बोलाएको र उनको साथबाट कुनै पनि प्रतिबन्धित पदार्थ बरामद नभएको भन्दै बचाउ गरेका थिए ।

उनले अरूको साथबाट पाएको ड्रग्सलाई आर्यनबाट पाएको भन्न नमिल्ने उनको तर्क छ। बचाउका क्रममा सतिशले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन। आर्यनले चाहेमा जहाज नै किन्न सक्छन्।’एनसीबीले लागू औषध मुद्दामा आर्यन र अन्य अभियुक्तको हिरासतको समय सात अक्टोबरसम्म बढाएको छ । आर्यनले चार वर्षदेखि लागूपदार्थ सेवन गरेको स्वीकार गरेको बताइएको छ ।

सञ्जय दत्तको बम विस्फोट मुद्दा
सन् १९९३ मा सतीशले मुम्बई बम विस्फोटमा सञ्जय दत्तको मुद्दामा पनि सहायता गरेका थिए । उनी २००७ को आर्म्स एक्ट मामिलामा उनको बचाउ गर्ने कानूनी टोलीका वकिलहरूमध्ये एक हुन् । उनी उक्त समय दत्तलाई जमानत दिलाउन सफल भएका थिए तर पछि सञ्जयलाई अझ ठुला ठुला आरोपहरू लागे ।

सलमान खानको सवारी मुद्दा
सतीश, सन् २००२ मा सलमान खानले मातेर गाडी चलाएको मुद्दामा वकिल बनेसँगै चर्चामा आएका हुन् । उक्त केसमा ‘दबंग’ स्टार जमानतमा रिहा भएका थिए । पछि सलमानलाई अदालतले सफाइ दिएको थियो । यी वकिलले सन् १९९८ को कालो हरिणको अवैध सिकार मुद्दामा समेत सलमानको बचाउ गरेका छन् ।

रिया चक्रवर्तीको मुद्दा
सतीश गत वर्ष पनि समाचारको शीर्षक बनेका थिए । अभिनेत्री रिया चक्रवर्ती विरुद्ध आपराधिक षडयन्त्र र पैसाको दुरुपयोग गरेको आरोप लागेको थियो । तब सतिशले अदालतमा अभिनेत्री रिया र उनका भाइ शोविक चक्रवर्तीको पक्ष लिएका थिए । पछि दुवैजना जमानत पाउन सफल भए । रिया सुशान्त राजपूतको निधन पश्चात् हिरासतसम्म पुग्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *