इटालीको ३७ खेलसम्मको यात्रा तोड्दै स्पेन फाइनलमा 

काठमाडाैँ । विश्व कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा बनाएको इटाली स्पेनसँग पराजित भएको छ । सान सारियो मैदानमा भएको सनसनीपूर्ण खेलमा युरो च्याम्पियन इटाली युइएफए नेसन्स लिगमा पराजित भएको हो । जितसँगै स्पेनले भने फाइनल यात्रा तय गरेको छ ।

बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको इटाली २-१ ले पराजित भयो । स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे । घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले अन्तिम समयमा एक गोल फर्काएका थिए ।

४२औँ मिनेटमा इटाली १० खेलाडीमा समेटिन पुगेको थियो। लियोनाद्रो बोनुची दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इटाली स्वाभाविक दबाबमा देखियो । यद्यपि त्यसअघि १७औँ मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनलेको अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । ८३औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

इटाली सन् २०१८ को सेप्टेम्बरमा नेसन्स लिगमै पोर्चुगलसँग १-० ले पराजित भएयता लगातार ३७ खेल सम्म अपराजित रह्यो । इटाली ३८औँ खेलमा भने स्पेनसँग हार भोग्न बाध्य भयो । इटालीले आफ्नो अपराजित यात्रामा २८ जित र ९ बराबरी गरेको छ । यो अवधिमा इटालीले ९३ गोल गर्दा १२ गोल खाएको छ ।

यस्तै स्पेनले गत जुन जुलाईमा भएको युरोकपको सेमिफाइनलमा पेनाल्टी सुट आउटमा भोगेको हारको बदला लिन सफल रह्यो । निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि इटालीले पेनाल्टी सुट आउटमा ४-२ ले स्पेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

फाइनलमा पनि निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरी भएपछि इंग्ल्यान्डलाई पेनाल्टी सुट आउटमै ३–२ ले पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो । अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =