मेरो अनुहारै नेपाली होइन समेत भनियो : प्रमोद अग्रहरी

काठमाडौँ । मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ घटस्थापनाको अवसर पारेर भोलि (बिहीबार) २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई ओटीटी प्ल्याटफर्ममार्फत् प्रदर्शनमा ल्याइएको हो । चलचित्र नेट टिभी, भायनेटको भायटिभी, म्याक्स टिभी, डीस होमको च्यानल नम्बर ५५५ लगायत च्यानल तथा एपमार्फत् रिलिज गरिएको छ । ‘एक’ अर्ग्यानिक‚ साथै कम लगानीमा बनेको चलचित्र भनेर चर्चा भइरहेको छ । ट्रेलरमा देखाइएका झलकमार्फत चलचित्र र पात्रलाई मन पराइने अपेक्षा पनि गरिएको छ ।

चलचित्रको विषयमा निर्देशक पण्डित भन्छन्, ‘यो चलचित्रले नेपालमा बसेका व्यक्ति तथा देशको नै भाग्य निर्माण गर्ने पक्षमा केन्द्रित भएर विषय उठान गरेको छ । चलचित्र तब मात्रै देशको हुन्छ‚ जब चलचित्रको मुख्य तत्त्व, द्वन्द्व देशभित्र भएको समस्या, भूगोल, मानिसको समस्या आत्मसात् गरेको हुन्छ । यो चलचित्र देशको सम्भावित खतरा माथि बनेको छ । यसले हाम्रो अस्तित्वलाई परिचित गराउँछ । यसमा प्रमुख पात्रको उद्देश्य नेपाली अस्तित्वलाई बलियो बनाउनेछ । हरेक नेपालीले आफ्नो अस्तित्व खोज्न मद्दत पुग्ने भएकाले यो नित्तान्त नेपाली चलचित्र हो ।’

चलिचत्रमा प्रमोद अग्रहरीसहित ज्योत्स्ना योगीको मुख्य भूमिका रहेको छ भने प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अलि, रमेश महर्जन, रिसिका घिमिरे तथा बाल कलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रको बारेमा मकालुखबरकर्मी दिक्षा कट्टेलले चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेता प्रमोद अग्रहरीसँग गरेको कुराकानी:

चलचित्र एकमा तपाईँको चरित्र कस्तो छ ?
चलचित्रको ट्रेलरमार्फत् पनि मेरो चरित्रको विषयमा केही थाहा हुन्छ । एउटा मिसनमा हिँडेको पात्र हो । जसले मधेशलाई स्वतन्त्र बनाउँदै अर्कै हिसाबले चलाउन चाहन्छ । मधेशको स्वरूप बदल्न चाहन्छ । यतिसम्म कि‚ छुट्टै संविधान बनाउनुपर्छ भन्ने कुरामा जोड दिन्छ । स्वतन्त्र मधेशको सपना बोकेर हिँडेको छ । सिद्धान्त र नियममा आधारित रहेर त्यो पात्र निर्माण भएको छ ।

तपाईँ चलचित्रका पात्रमा एकदमै डुबेर त्यसैसँग बगेर काम गर्ने अभिनेताका रूपमा चिनिनुहुन्छ । चलचित्रको पात्रबाट वास्तविक जीवनमा फर्कन समय लाग्छ भनिन्छ । एकको अनुभव कस्तो रह्यो ?

सही हो । ‘एक’ मा गाह्रो भयो । विचार र सिद्धान्तमा आधारित पात्र निर्माण हुनु नै गाह्रो कुरा हो । एउटा व्यक्ति ‘प्रमोद अग्रहरी’को विचार पात्रसँग मिल्छ नै भन्ने छैन । यो पात्रमा रहिरहँदा समाज, राष्ट्रलगायतको धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । एउटा परिधिमा रहेर उक्त पात्र भएर बाँच्नु नै गाह्रो कुरा हो । जब यो क्यारेक्टरको जीवन बाच्न थालिन्छ‚ त्यहाँ ‘प्रमोद’को आफ्नो क्यारेक्टर नै गायब हुन्छ । उसको आफ्नै बुझाइ, शारीरिक हाउभाउदेखि भाषा, जीवनशैली सम्पूर्ण कुरा नै उसको ‘आफ्नो’ हुन्छ । यसरी कुनै एक चरित्रमा रहेर काम गर्दा अन्य सानोतिनो मात्रै बाह्य प्रभाव पर्दा पनि पात्रले दिन खोजेको मर्ममा अन्य विषय प्रवेश गर्न सक्छ ।

‘एक’मा काम गर्दा म बस्ने होटेलको रुममा मलाई प्लास्टिकको झोलामा खाना आउँथ्यो । मैले सुरुमै एकजना मात्रै मानिसलाई खाना ल्याइदिने व्यवस्था मिलाउन प्रोडक्सन टिमलाई भनेको थिएँ । किनभने मैले निर्वाह गरेको पात्रको जीवन यस्तै थियो । अभावमा बाँच्ने पात्र थियो त्यो ।

दुनियासँग उसलाई मतलब थिएन । आफ्नो मिसनमा एकत्रित पात्रलाई न्याय गर्नकै लागि मैले उसको जीवन बाँच्ने प्रयास गर्दै थिएँ । कतिपय कुरा डाइलग नबोलेर नै पनि भावले, आँखाले बोलोस् भन्ने हुन्छ । यसैको कोसिस थियो ।

बिहान उठेर म सिधै सेटमा जान्थेँ । सेटमा समेत म मनोज दाइ (निर्देशक मनोज पण्डित तथा टिमसँग पनि पात्रको चरित्रमा रहेर नै व्यवहार गर्थे । प्रमोद अग्रहरी त गायब नै थियो । महिनौँसम्म एउटा क्यारेक्टरमा रहँदा साइकोलोजिकल र मेन्टल असर त पर्छ नै । क्यारेक्टरबाट ‘ब्याक टू’ प्रमोद हुन समय लागिरहेको हुन्छ । यसअघि ‘कथा काठमाडौँ’ चलचित्रमा समेत पात्रबाट सामान्य जिन्दगीमा फर्किन मलाई हप्ता १० दिन लागेको थियो । यो मेरो पात्रलाई जीवन्त बनाउने प्रयास हो । आफ्नो काम राम्रो बनाउन मैले गरेको एक प्रयास नै भन्नूस् न ।

तराई मूलको प्रमोद स्वयंले ‘एक’को तराई मूलकै तर विद्रोही पात्रले भोगेको अनुभव यो कोणबाट चाहिँ कस्तो रह्यो ?

सानो उमेरमा, जब म तराईँमै थिए, उक्त समय त मैले विभेद भोगिनँ । सुन्न चाहिँ सुनिन्थ्यो । पहाड र तराई, राजनीति अनि विभेदको कुरा । तर काठमाडौँ आएपछि भने मेरो मनलाई यो विषयले पटक पटक नराम्ररी निमोठेको छ । म नेपाली हुनुमै प्रश्न चिह्नसमेत लगाइएको छ । मेरो नागरिकताको विषयमा प्रश्न उठेका छन् । मेरो अनुहार नेपाली अनुहार नै होइन पनि भनिएको छ । एक हदसम्म नराम्रो त लाग्छ । तर यस्तो कुराले आफूमाथि प्रभाव पर्न भने दिएको छैन । किनभने यस्ता विषय उठाउने व्यक्तिले स्वयम् आफ्नो सोचको स्तर र बुझाइ झल्काइरहेका हुन्छन् ।

तपाईँले यसअघि निर्वाह गरेका पात्रभन्दा ‘एक’को पात्र भिन्न छ ?

प्रमोद अग्रहरीको काम नै अभिनय गर्ने हो । पहिला पहिला झैँ केही भिन्न गर्ने प्रयास गरेको छु । पहिला झैँ मैले गरेको भिन्न भूमिकालाई दर्शकले मन पराउनुहुन्छ भन्ने अपेक्षा छ ।

मनोज पण्डितले कम लगानीमा चलचित्र बनाउँछन् भनिन्छ । यस्तो धेरै मेहनत गर्ने पात्रलाई कम लगानीको चलचित्रमा काम गर्दा तपाईँको पारिश्रमिकलाई असर गरेन ?
मलाई केही फरक परेन । कतिपय चलचित्र पैसाकै लागि मात्रै पनि गरिएको हुँदैन । मनोज दाइले मलाई दिने आफ्नोपन, मलाई गर्ने व्यवहार भिन्नै छ । हाम्रो जुन प्रकारको सम्बन्ध छ‚ त्यसमा पैसा गौण रहन्छ । मैले लिने पारिश्रमिकभन्दा पनि बढी नै दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *