रामभक्त थिए रामायणका ‘रावण’, हरेक दिन माग्थे भगवानसँग माफी

काठमाडौँ । रमानन्द सागरको रामायणमा रावणको भूमिकाबाट लोकप्रिय बनेका कलाकार अरबिन्द त्रिवेदी सधैँका लागि संसारबाट बिदा भएका छन् । मंगलबार राति हृदयाघातबाट  उनको निधन भएको हो । पूर्व सांसद समेत रहेका त्रिवेदीको ८८ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो ।

उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । उनको आजै मुम्बईस्थित  दहानुकरवाडी आर्यघाटमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।  कलाकार त्रिवेदीको निधनपछि उनका सहपाठी, बलिउड कलाकारहरूदेखि आम सर्वसाधारणसम्म दुःखी बनेका छन् । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिनेको असङ्ख्य छन्  ।
धारावाहिक हिन्दी धार्मिक सिरियल रामायणमा रावणजस्तो नकारात्मक पात्रलाई अभिनयमार्फत् उनले जिवित बनाएका थिए । उक्त अभिनयका कारण उनी दर्शकमाझ लोकप्रिय बने । रामायणजस्तो कालजयी टेलिसिरियलमा रावणको अभिनय गरेर दर्शकमा लोकप्रिय बने पनि वास्तविक जीवनमा उनी भगवान रामका भक्त थिए ।

गत वर्ष मुम्बइ मिररसँगको एक अन्तर्वार्तामा उनकी नातिनी डा. अनेरीले उनी भगवान रामका भक्त रहेको र रामको मूर्ति र तस्बिरअघि दैनिक रूपमा पूजा गर्ने गरेको खुलासा गरेकी थिइन् । नातिनी डा. अनेरी भन्छिन्, ‘ नाना(हजुरबा)ले हाम्रो गुजरातस्थित निवासमा भगवान रामको विशाल प्रतिमा बनाउनु भएको छ, उहाँ सोही मूर्तिअघि दैनिकरुपमा आराधनासहित ‘रावण’को भूमिका निर्वाह गरेकोमा माफी माग्नुहुन्छ ।’

अरबिन्द रामायणमा अभिनय गर्नुभन्दा पहिलो गुजराती नाटकमा अभिनय गर्थे । रामायणका निर्माता रमानन्द सागरले पनि उनलाई धेरथोर चिनेका थिए । तर रावणको अभिनयका लागि भने उनले अडिसन नै दिनु परेको थियो ।  अडिसनका क्रममा रावणको भूमिकाका लागि उनले लगाएको पोसाक कस्ट्युम देखेरै रमानन्द सागरले उनलाई छानेका थिए ।

अरबिन्दलाई रामायणका लागि छनोट हुनु ठूलो कुरा थियो तर उनले यसैमा अभिनय गर्न भने अस्वीकार गरेका थिए ।  किनकि उनी त्यसअघि नै अभिनेता परेश रावलसँग मिलेर एक नाटक गरिरहेका थिए ।

जुन दर्शकमाझ लोकप्रिय बनिरहेको थियो । नातिनी डा अनेरी थप्छिन्, ‘ जब  रमानन्द सागरले हजुरबालाई रावणको भूमिका निभाउन भन्नुभयो तब उहाँले अस्वीकार गर्नुभएको थियो । तर सहकर्मी परेश रावलले एक पटक आउने मौका नगुमाउन आग्रह गरेपछि उहाँ तयार हुनुभयो ।’

उनका अनुसार रावणजस्तो नकारात्मक भूमिका निभाएर पनि उनका थुप्रै क्रेजी फ्यानहरु थिए । उनलाई भेट्नेहरुले उनको खुट्टा ढोग्थे र ठूलो फ्यान (प्रशंसक) रहेको बताउँथे । यतिसम्म कि उनलाई एक दम्पतीले त आफ्नी छोरीको न्वारानमा निमन्त्रणा पत्र पठाएर उपस्थित हुन आग्रह गरेका थिए । उक्त दम्पतीकी छोरीको अरबिन्दले ‘वैदेही’ नाम राखी दिएका थिए, जसलाई उक्त दम्पतीले सहर्ष स्वीकारेका थिए ।

उत्तर प्रदेशको उज्जैन सहरमा जन्मिएका कलाकार त्रिवेदीले आफ्नो करियरको सुरुवात भने गुजराती रङ्गमञ्चबाट गरेका थिए । उनले गुजराती सिनेमामा झण्डै ४० वर्ष काम गरेका थिए ।

रामायणको अभिनयपछि उनी राजनीतिमा पनि सक्रिय भएका थिए । उनीसँगै अभिनेत्री दीपिका चिखलिया पनि राजनीतिक मैदानमा थिइन् । यद्यपि अभिनेता अरबिन्दको राजनीतिक यात्रा भने धेरै लामो हुन सकेन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *