लकडाउनले सिकाएको व्यापार

मिडियासँगै फुटमार्ट

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोकको उत्तरतिरको तीन तले घरको पहिलो तलाको एउटा कोठामा फोनबाट अर्डर टिप्दै थिए निकेन्द्र बुढा । सजाइएको एउटा कोठामा दुई कुर्सी, दुई टेबुल अनि छेउमा दराज । दराजभित्र विभिन्न रजिस्टर अनि बस्नका लागि चिटिक्कका सोफा । झट्ट हेर्दा कुनै कार्यालय जस्तो । वरपर न भान्छा देखिन्छ देखिन्छ न त ग्राहकका लागि बस्ने टेबुल कुर्सी । तर टेबुलमाथिको फोन सेटमा दिनभरजसो ग्राहकका फोन आउँछन् , जहाँ विभिन्न नास्ताको अर्डर आउँछ । र, अर्डर टिप्छन् उनै निकेन्द्र ।

उनले एकजना खाना खाजा बनाउने, एकजना खाजा पुर्‍याउने र एकजना सहयोगी गरी तीन जनालाई काम दिएका छन् । मेरो साथी सुपर सर्भिसको नाममा व्यवसाय दर्ता गरेर उनी यो व्यापार चलाइरहेका छन् । साथी सुपर सर्भिस अन्तर्गत उनले ‘फुडमार्ट धनगढी’ नाममा नास्ता अर्डर लिन्छन् र ग्राहले भनेको ठाउँमा पुर्‍याइदिन्छन् । नास्ताको डेलिभरी निःशुल्क हुन्छ ।

यो किसिमका व्यापार सुदूरपश्चिमकै लागि पहिलो भएको निकेन्द्रले दाबी गरे । ‘अर्डर लिने र केही शुल्क लिएर डेलिभरी गर्ने काम होटलहरुले पनि  गर्छन्,’ उनले भने, ‘तर नास्ता डेलिभरी मात्रै गर्ने यो सेवा भने यहाँको पहिलो हो । अहिले भने अरूले पनि यो सेवा सुरु गर्ने तयारी गरिरहेका छन् भन्ने सुनेको छु ।’

उनको फुडमार्टमा अहिले बिर्यानी, दम बिर्यानी (हैदराबादी विशेष), मःम, चाउमिनलगायतका नास्ता बन्छन् । छिट्टै बर्गर र पिज्जा पनि बनाउने उनको योजना छ ।

उनको यो व्यापार छोटो समयमै राम्रो फस्टाएको छ । खासमा यो व्यापार उनले अघिल्लो लकडाउनमै सुरु गरेका थिए । होटलहरु बन्द भएपछि अर्डर लिएर डेलिभरी गर्ने यो व्यापार त्यसबेला प्रभावकारी पनि बन्यो । तर कोरोना सङ्क्रमण तीव्र बनेसँगै यो रोकियो ।

सुरुवातमा खासै व्यवस्थित पनि हुन नसकेको यो व्यापारलाई गएको असोज १ गतेदेखि भने व्यवस्थित तरिकाले ‘फुडमार्ट धनगढी’को नाममा अगाडि बढाएका छन् ।

व्यापार पुन शुरु गरेपछि उनले पुराना ग्राहकलाई पनि फोनै गरेर जानकारी गराए । थप प्रचार–प्रसार पनि गरिरहेका छन् । अहिले दैनिक १० हजार रुपैयाँभन्दा बढीको कारोबार भइरहेको उनले बताए । दैनिक माग बढिरहेको उनी बताउँछन् । ‘धेरैलाई यो व्यापारबारे जानकारी छैन,’ उनी भन्छन्, ‘अझै प्रचार पुगेको छैन । थाहा पाएका व्यक्तिले मगाइरहेका छन् । बजारकै दरमा आफूलाई मन परेको खाजा आफू भएकै ठाउँमा आउने भएपछि ग्राहक खुशी पनि भएको उनको अनुभव छ । राम्रो प्रतिक्रिया आइरहेको र  एक पटक खाजा मगाइसकेकाले फेरि फेरि मगाइरहेकाले सेवा उनीहरूले मनपराइरहेको भनेर उनी बुझ्छन् ।

फुडमार्टको नास्ताको डेलिभरी सेवा धनगढीभर उपलब्ध छ । धेरै परिमाणमा नास्ताको अर्डर आए भने २० किलोमिटर टाढाको फुलबारी, गेटा र अत्तरिया क्षेत्रसम्म पनि निःशुल्क डेलिभरी सेवा दिइरहेको सञ्चालक निकेन्द्रले बताए ।

छोटो समयमै फुडमार्टलाई ग्राहकले मन पराएपछि हौसिएका निकेन्द्र बुढा यसलाई राम्रो ब्राण्डको रूपमा विकास गर्ने योजनामा छन् । फुडमार्ट धनगढीको नामबाट कैलालीकै टीकापुर, गोदावरी नगरपालिकाको अत्तरिया र कञ्चनपुरको महेन्द्रनगर बजारमा शाखा विस्तार गर्ने योजना रहेको उनले बताए ।

मिडियासँगै ‘फुटमार्ट’
कोरोनाको जोखिम बढ्दै गएपछि गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउन गरियो । सङ्क्रमणको जोखिम कम गर्न सीमा नाका सिल गरियो । अत्यावश्यक सेवाबाहेक सबै बन्द भए । सञ्चार क्षेत्र अत्यावश्यक सेवाको क्षेत्र त थियो तर जोखिम मोलेर काम गर्ने पत्रकार नै बेतलबी हुने अवस्था आयो ।

धेरै सञ्चार माध्यममा पत्रकारलाई कामबाट बिदा दिने, तलब नदिने वा काममा जान नसक्ने अवस्था भयो । निकेन्द्र त्यसबखत धनगढीकै रेडियो सुदूर सन्देशमा व्यवस्थापकको काम गरिरहेका थिए । त्यही बेला रेडियो अर्को ठाउँमा सार्नुपर्ने भएको हुँदा रेडियो बन्द थियो । कामविहीन भएपछि उनले साथीसँग मिलेर यो काम सुरु गरेका थिए । फेसबुकमा ‘फुडमार्ट धनगढी’ नामको पेज बनाएर प्रचार थाले भने धनगढीकै हसनपुर क्षेत्रमा सानो किचेन बनाएर नास्ताको अर्डर लिने र डेलिभरी गर्ने काम सुरु गरे । लकडाउनमा यो डेलिभरी सेवा प्रभावकारी पनि बन्यो । कामले बजार बनाइरहेका बेला कोरोनाको जोखिम झनै बढेपछि यो काम त्यतिकै रोकियो । केही महिना घरमै समय बिताएका निकेन्द्रले पछि धनगढीकै अर्को एक रेडियो डेलिमेलमा काम गर्न सुरु गरे ।

रेडियोको कमाईले मात्रै उनी सन्तुष्ट हुन सकेनन् । त्यसमाथि पार्ट टाइम जागिर । एक वर्ष अगाडि लकडाउनमा सुरु गरेको व्यापारलाई पनि अगाडि बढाउने योजना बुने । थोरै लगानी गरेर अहिले उनले ‘फुडमार्ट धनगढी’ व्यवस्थित तरिकाले अगाडि बढाएका छन् । साथमा मोडलिङ क्षेत्रमा पनि सक्रिय रहेका उनले अहिले त्यो क्षेत्रलाई पनि समय दिन भ्याइरहेका छन् । उनी विगत ८/९ वर्षदेखि मोडलिङ क्षेत्रमा पनि सक्रिय छन् । उनले दर्जनौँ म्युजिक भिडिओमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *