खप्तडमा छायाङ्कन भएको पल र गरिमा अभिनीत भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा छायाङ्कन भएको गीत ‘जीवन फुल्ने मेरो लहरा…’को म्युजिक भिडिओको सार्वजनिक भएको छ । एक महिना अघि छायाङ्कन गरिएको गीतको म्युजिक भिडिओ युट्युबमार्फत सार्वजनिक भएको हो ।
भिडिओमा मोडेल पल शाह र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने भिडिओले शब्द, अभिनय र पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएकाले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
गीतमा गायक सुनिल गिरी र डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शब्द र सङ्गीत पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडिओको छायाङ्कन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् । खप्तडको पर्यटन प्रवर्द्धन उद्देश्यले समेत सो क्षेत्रमा छायाङ्कन गरिएको गायक गिरीको भनाइ छ ।
३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिक रूपमा निक्कै रमणीय छ । सधैँ आनन्ददायी मौसम रहने खप्तड घना जङ्गल र धार्मिक क्षेत्रका रूपमा पनि परिचित छ । खप्तड बाजुरा, बझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो ।









Bajura