पुनः जुटे कांग्रेसका तीन भाइ

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको भेटवार्ता बाक्लिएको छ । यसअघि नै चरणबद्ध रूपमा छलफल तथा संवादमा जुटेका निधि, कोइराला र सिंहबीच सोमबार (आज) पुनः छलफल भएको छ ।

तीन नेताहरूबीच दिउँसोदेखि छलफल भइरहेको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । निधिनिवास मध्यबानेश्वरमा उनीहरूबीच छलफल भइरहको छ । उनीहरूबीच महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको छ ।

कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूबीच निरन्तर छलफल भएपनि नेतृत्वका लागि एकजनाको नाममा सहमति हुन सकेको छैन । महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै निधि, कोइराला र सिंहबीच पटक–पटक छलफल हुँदै आएको छ ।

सिंहले भने आफूले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने निधिले त्यसकै तयारीस्वरूप सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेका छन् । उता कोइरालाले आफूले १३औं महाधिवेशनलगत्तै तयारी गरेको बताउँदै आएका छन् ।

आउँदो महाधिवेशनमा तीनैजनाले आफूलाई सभापतिको उम्मेदवारको रूपमा चिनाउँदै आएका छन् । केही दिनअगाडि कोइराला कोइरालानिवासमा भएको छलफलमा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीभित्र भूमिका निर्वाह गर्ने र सर्वसम्मत नेतृत्वका लागि सभापतिका सबै आकांक्षीसँग छलफल गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *