साफ च्याम्पियनसिप फुटबल

श्रीलङ्काविरुद्ध नेपालको अचम्मको रणनीति !

काठमाडौँ । साफ च्याम्पियनसिपमा नेपालले सोमबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा माल्दिभ्सलाई हराएर रवाफिलो सुरुवात गरेको नेपालको दोस्रो खेलको रणनीति भने आश्चर्यजनक छ । प्रशिक्षक अबदुल्लाह अलमुताइरीको भनाईलाई मान्ने हो भने श्रीलङ्का नेपालसँगको खेलमा १० खेलाडीमा सीमित हुने छ र त्यसको फाइदा नेपालले लिने छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले श्रीलङ्कासँग निश्चित जितका लागि नेपालले प्रदर्शन गर्ने बताए । उनले प्रि-म्याच कन्फ्रेनसमा श्रीलङ्काविरुद्धको खेल सहज नहुने तर नेपाल संयमित भएर खेल्ने बताए । उनले भने ‘श्रीलङ्काविरुद्ध हामीलाई सहज हुने छैन । श्रीलङ्का बलियो र राम्रो टिम हो । हामी माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलङ्काविरुद्ध खेल्नेछौँ ।’उनले ३ अंकका लागि पुरै समय खेलाडीले कडा मिहिनेत गर्ने बताए ।

उनले श्रीलङ्का र बङ्गलादेशको खेल हेरेको भन्दै पेनाल्टीका कारण मात्र श्रीलङ्का हारेकाले कमजोर नआँक्ने बताए । साथै उनले रातो कार्ड पाए पनि श्रीलङ्का दबाबमा नआई खेलेको भन्दै नेपाली टिमलाई सहज नहुने बताए । उनले भने ‘श्रीलङ्काली खेलाडी धेरै नै एग्रेसिभ र गम्भीर ट्याकल गर्छन् । हामीले त्यसको फाइदा उठाउँदै विपक्षी खेलाडीलाई रातो कार्डका साथ बाहिर पठाउन सक्ने सम्भावना रहन्छ । जुन रणनीतिका रूपमा रहने छ ।’

प्रशिक्षक अलमुताइरीले उनीहरुको एक खेलाडी कम भए जितका लागि सहज हुने विश्वास पनि व्यक्त गरे । उनले अघिल्लो खेलमा श्रीलङ्काको एग्रेसन देखेको भन्दै सोही दोहोर्‍याउने विश्वास लिए । श्रीलङ्का वरीयतामा नेपाल भन्दा पछि रहेपनि त्यसले खेलमा फरक नपार्ने प्रशिक्षक अलमुताइरीले बताए । उनले भने ‘हाम्रो लागि हरेक खेल पहिलो खेल जस्तै हुने छन् । श्रीलङ्का विरुद्धको खेल पनि पहिलो खेलकै रूपमा रहने छ ।’

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि धेरै अर्थपूर्ण हुने बताए उनले भने ‘श्रीलङ्का विरुद्धको खेल नेपाली फुटबलमा निकै अर्थपूर्ण हुनेछ । अझ यो ऐतिहासिक र महत्त्वपूर्ण खेलका रूपमा रहने छ ।’ उनले माल्दिभ्सलाई जितेपछि श्रीलंकालाई हराउन सके नेपालको फाइनल सम्भावना बलियो हुनेतर्फ इङ्गित गर्दै नेपालले ऐतिहासिक खेलमा जित निकाल्ने विश्वास गरे ।’

पहिलो खेलमा बङ्गलादेशसँग १-० ले पराजित भएको श्रीलङ्का नेपाललाई हराउँदै साफमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । श्रीलङ्काका प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको लक्ष्य प्रतियोगितामा पुनरागमन गर्ने रहेको बताए । उनले श्रीलङ्का दक्षिण एसियाली फुटबलमा हामी पनि छौ भनेर देखाउने चुनौती रहेको बताए । नेपाल विरुद्ध जितको नतिजा निकाल्ने रणनीतिका साथ मैदान उत्रने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =