क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

दमौली । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्ने बताए । ‘यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ,’ उनले भने, ‘तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।’

खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताए । क्रिकेटकै कारण आज आफू यो स्थानमा रहेको बताउँदै उनले भने, ‘मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।’

हरेक युवाले आआफ्नो रुचीअनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको उनको भनाइ थियो ।

व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताए । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले जानकारी दिए । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =