हल खुलेसँगै प्रदर्शन मिति तोक्दै बलिउडका ठूला चलचित्र

एजेन्सी । कोरोना महामारीका कारण करिब दुई वर्षयता भारतीय मनोरञ्जन उद्योगमा पनि नकारात्मक असर परेको छ । भारत अहिले कोरोना महामारीको दोस्रो लहरबाट बाहिर निस्किन सङ्घर्ष गरिरहेको छ । अर्थतन्त्रमा पनि बिस्तारै सुधार आउँदैछ ।

चलचित्र हल बन्द हुँदा यो क्षेत्रले ठुलो नोक्सानी भोग्नुपर्‍यो । अब भारतका विभिन्न राज्यमा एकपछि अर्को गर्दै हलहरू खुल्न थालेका छन् । हालै मात्रै चलचित्रकर्मी रोहित सेट्टी, जयन्तीलाल गाडासँगै चलचित्र हल सङ्गठनका केही प्रतिनिधिले मुख्य मन्त्री उद्धव ठाकरेलाई भेटेका छन् । भेटघाटपश्चात् महाराष्ट्रमा अक्टोबर २२ बाट हलहरू खुल्ने निर्णय सार्वजनिक भएको छ ।

भारतीय चलचित्र उद्योगको कमाइको ३० प्रतिशत महाराष्ट्रबाट प्राप्त हुने गर्छ । चलचित्र उद्योग व्यापारको सबैभन्दा ठुलो भाग पनि यहीबाट नै कमाइ हुने गर्छ । पूर्ण रूपमा चलचित्र हल खुल्न नसक्दा धेरै निर्माताले चलचित्र प्रदर्शन गर्न हिम्मत गरेका थिएनन् ।  अब हल खुल्ने निर्णयसँगै महामारीले प्रभावित बलिउड चलचित्रले प्रदर्शन मिति तोक्न थालेका छन् ।

सूर्यवंशी
२०२० को २४ मार्चमा प्रदर्शन हुने भनिएको चलचित्र ‘सूर्यवंशी’ लकडाउनका कारण रोकिएको थियो । यो चलचित्रले प्रदर्शनका लागि करिब एक वर्ष पर्खिनुपर्‍यो । रोहितको पुलिस एक्सन ड्रामा सिरिजको यो तेस्रो चलचित्र हो । यसअघि उनका सिंघम र सिम्बा चलचित्र सफल भएका थिए । रोहित सेट्टीले निर्देशन गरेको चलचित्रमा अक्षय कुमारको मुख्य भूमिका छ ।

चलचित्रमा अक्षयसँगै अजय देवगण, रणवीर सिंह र कटरिना कैफ मुख्य भूमिकामा छन् । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि चलचित्र पुनः ३० अप्रिलमा प्रदर्शन गर्ने तयारीसहित घोषणा गरिए पनि कोरोनाको दोस्रो लहरको कारण पूर्वघोषित मितिमा प्रदर्शन हुन सकेन । त्यसपछि पुनः शेट्टीले चलचित्र तिहारमा रिलिज गर्ने बताएका छन् ।

८३
कबिर खान निर्देशित चलचित्र ‘८३’ मा दीपिका पादुकोण कपिल देवकी पत्नीको भूमिकासँगै निर्माताको रूपमा चलचित्रमा आउँदैछिन् । क्रिकेटरको कथामा बनेको यो चलचित्रमा पङ्कज त्रिपाठी, राज भासिन, साकिब सलिम, एम्मी विर्क र हार्डी सन्धुसमेत मुख्य भूमिकामा देखिएका छन् ।

चलचित्र २०२० को अप्रिल १० मा प्रदर्शन तयारी गरिएको थियो । तर कोरोना महामारीको कारण प्रदर्शन मिति २५ डिसेम्बर २०२० मा सारियो । पुनः नोभेम्बरमा आइपुग्दा चलचित्र प्रदर्शन मिति परिवर्तन गरियो र ४ जुन २०२१ मा आउने घोषणा गरियो । तर कोरोना प्रभाव कम नभएकाले यो चलचित्र कैले प्रदर्शन हुने हो‚ निर्माता आफैँ अन्योलमै थिए ।

चलचित्र हल खुल्ने पक्का भएसँगै यो चलचित्र यस वर्षको अन्त्य‚ अर्थात् क्रिसमसमा रिलिज हुने तयारी चलिरहेको छ । चलचित्र एकसाथ तमिल, तेलुगु, कन्नड र मलायलममा प्रदर्शन हुनेछ ।

सत्यमेव जयते २
२०१८ मा बनेको चलचित्र ‘सत्यमेव जयते’मा जोन अब्राहम‚ अर्का अभिनेता मनोज बाजपेईलाई टक्कर दिँदै गरेको पात्रका रूपमा देखिएका थिए । यो चलचित्रले सय करोडको व्यापार गरेर निर्मातालाई फाइदाजनक बनेको थियो ।

एक्सन चलचित्रको सफलताले निर्मातामा दोस्रो भाग बनाउने मोह जाग्यो । त्यसैले जोनलाई नै लिएर निर्माण टिमले ‘सत्य मेव जयते २’ घोषणा गरे । यसमा जोन दोहोरो भूमिकामा देखिँदैछन् । यही चलचित्र मार्फत दिव्या खोसला कुमार समेत लामो समय पश्चात् अभिनयमा फर्किएकी छन् ।

मिलाप झावेरी निर्देशित यो चलचित्र २०२१ को अप्रिलमा प्रदर्शन हुने तयारी थियो । तर कोरोना महामारीका कारण चलचित्र अनिश्चित कालका लागि रोकिएको छ ।

बन्टी और बब्ली २
यसराज फिल्म्सलाई हिन्दी फिल्म इन्डस्ट्रीकै सबैभन्दा ठुलो स्टुडियो मानिन्छ । सन् २००५ मा बनेको रानी मुखर्जी, अभिशेख बच्चन र अमिताभ बच्चनको चलचित्र ‘बन्टी और बब्ली’ले दर्शकको मन जितेको थियो । चलचित्रको ‘कजरारे कजरारे’ गीतले राम्रो चर्चा कमाएको थियो ।

१५ वर्षपछि पुनः सेफ अलि खान र रानी एक साथ पर्दामा देखिन लागेका हुन् । ‘बन्टी और बब्ली २’मा उनीहरूसँगै गल्ली ब्वाई फेम्ड सिद्धान्त चतुर्वेदी र शरवारी बाघसमेत देखिनेछन् । अघिल्लो वर्षको २६ जुनमा प्रदर्शनका लागि तयार भएको चलचित्रलाई समेत कोरोनाले प्रभावित पार्‍यो । छायाङ्कनमा नै लकडाउन भएर रोकिएको चलचित्रको बाँकी भाग सेप्टेम्बरमा खिचेर सकिएको थियो । अब चलचित्र तयार छ ।

अहिले यशराज स्टुडियोका ठुला लगानीका चलचित्रहरू प्रदर्शनका लागि तयारी अवस्थामा रहेका छन् । जसमा अक्षय कुमारको ऐतिहासिक चलचित्र ‘पृथ्वीराज’, रणवीर कपूरको ‘शमशेर’, रणवीर सिंहको ‘जयश भाइ जोरदार’ तयार छन् । यशराजले यी चलचित्र फिल्म हलकै लागि बनेको हुनाले हल खुल्नसाथ प्रदर्शन गरिने बताउँदै आएको छ ।  हल खुल्ने निर्णयसँगै ‘बन्टी और बब्ली २’  यही वर्षको नोभेम्बर १९ मा प्रदर्शन हुने घोषणा गरिएको छ । त्यस्तै बाँकी चलचित्रसमेत २०२२ मा प्रदर्शन हुनेछन् ।

गङ्गुबाई काठीयावाडी
निर्देशक सञ्जय लीला भन्सालीको चलचित्रमा काम गर्ने रहर धेरै कलाकारलाई हुन्छ । मनीषा कोइराला, ऐश्वर्या राय, माधुरी दीक्षित, रानी मुखर्जी, प्रियङ्का चोपडा र दीपिका पादुकोणसँग काम गरेपश्चात् सञ्जयले आलिया भट्टलाई लिएर ‘गंगुबाई काठीयावाडी’ बनाएका छन् । यो चलचित्रका लागि पनि आलिया उनको पहिलो रोजाइ थिइनन् । रानी मुखर्जी र प्रियङ्का चोपडाले यो रोल नकारेपछि उनी आलियालाई लिएर चलचित्र निर्माणमा लागेका थिए ।

मुम्बईको रेड लाइट एरियामा कोठी सञ्चालन गर्ने महिलाको राजनीतिक यात्राको विषयलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा अजय देवगण केमियो रोलमा देखिनेछन् ।

पछिल्लो वर्ष मार्चमा चलचित्रको छायाङ्कन केही समयका लागि रोकिएको थियो । ७० प्रतिशत छायाङ्कन सकिएको चलचित्रको बाँकी भाग जुन २०२१ मा पूरा भएको थियो । छायाङ्कन सकिएलगत्तै चलचित्र जुलाई ३० मा प्रदर्शन गरिने बताइएको थियो । तर कोरोनाको दोस्रो लहरले यो चलचित्रसमेत प्रभावित हुन पुग्यो । चलचित्र ओटीटीमार्फत् प्रदर्शन हुने चर्चा चले पनि निर्माता पेन स्टुडियोले यो चलचित्र हलमै लगाउनका लागि बनाएको बताएका थियो । अब चलचित्र ६ जनवरी २०२२ बाट प्रदर्शनमा आउनेछ ।

भारतमा चलचित्र हल खुल्ने निर्णयसँगै ठुलो बजेटका बलिउड चलचित्रले आफ्नो प्रदर्शनको मिति बुक गर्न थालेका छन् ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *