रिपोर्टरको डायरीः

बिजुलीका पोलदेखि बोतलसम्म मुस्कुराइरहेका ओली

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको रिपोर्टिङ्गका लागि अनामनगरबाट बानेश्वर, कोटेश्वर हुँदै ललितपुरको गोदावरी सम्मेलन केन्द्रसम्म पुगियो । नयाँ बानेश्वरतिरबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिर बिजुलीका पोल–पोलमा टाँगिएको देखियो । ओली नै प्रधानमन्त्री भएका बेला सामाजिक सुरक्षा कोषको औपचारिक सुरुवात भएको बेलाको जस्तो धेरै नभएपनि पोलहरुमा ओलीका तस्बिर देख्दा त्यही बेलाको झल्को आउँथ्यो ।

बाटोमा आकाशे पुल र ठाउँ–ठाउँमा बनाइएका दर्जन बढी गेटमा पनि ओलीले हात उठाएर मुस्काइरहेका तस्बिर यत्रतत्र राखिएका देखिन्थ्यो । सातदोबाटो, हरिसिद्धी, ठैब, बाडेगाउँ हुँदै सम्मेलन केन्द्रसम्म पुग्दा झन्डै ५० वटा जति ओलीका तस्बिरहरू राखिएका थिए । सम्मेलन केन्द्र त ओलीमय थियो नै । केन्द्रलाई ओलीका बडेमानका तस्बिरहरूले घेरिएको थियो । ठाउँ–ठाउँमा मदन भण्डारी र केही विदेशी नेताहरूका तस्बिर भएपनि तिनीहरू अध्यक्ष ओलीका तस्बिरको छायाँमै देखिन्थे ।

ओलीका बडेमानका तस्बिरमा नेता/कार्यकर्तालाई एक्लाएक्लै र सामूहिक रूपमा उभिएर तस्बिर खिच्न भ्याइनभ्याइ देखिन्थे । सम्मेलन स्थलमा बाँडिएका पानीका बोतलमा पनि ओलीले उसैगरी हात उठाएर मुस्काइरहेको तस्बिरसहित विधान महाधिवेशन सफल पार्न आग्रह गरिएको सन्देश लेखिएको थियो ।

दिउँसो १ बजेर १० मिनेटतिर ओली सम्मेलन स्थलमा आइपुगे । सातदोबाटोबाट नै उनलाई कार्यकर्ताले मोटरसाइकल र गाडीमा ‘एस्कर्टिङ’ गरेर पुर्‍याइएकाे थियो । साथमा प्रहरीको सुरक्षा त छँदै थियो । प्रधानमन्त्रीबाट हटेर बालकाेटस्थित निजी  निवासमा जाँदा पनि ओलीलाई नेता/कार्यकर्ताले यसैगरी गाडी र मोटरसाइकलले ‘एस्कर्टिङ’ गरेर पुर्‍याएका थिए ।

उद्घाटन सत्रमा सम्बोधन गरेका ओलीले अरूबेलाजस्तो गालीगलौज र बिझाउने शब्दको प्रयोग गरेनन् । उसो त रुघाखोकीका कारण ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पूरै पेस गर्नसमेत सकेनन् । तत्पश्चात् केही बेरपछि बाँकी प्रतिवेदन पेस गर्न नेता शंकर पोखरेल पोडियममा चढे । यसलाई पनि कतिपयले अध्यक्ष ओलीको एक संकेतका रूपमा अर्थ्याउन सकिने बताएका छन् ।

आउँदो महाधिवेशनमा अध्यक्ष हुने लगभग निश्चित देखिएका ओलीले आफ्नो विश्वास पात्रका रूपमा कसलाई अघि बढाउँछन् भन्ने कुतूहलका बीच ओलीले पोखरेललाई आफ्नो प्रतिवेदनको बाँकी अंश वाचन गर्न दिनु अर्थपूर्ण भएको बताइन्छ ।

ओलीका रमाइला र घोचपेचले भरिएको भाषण सुन्न नपाएर पनि होला, कतिपय सहभागी सभास्थलमा निदाइरहेका पनि देखिन्थे । सभास्थलमा प्रतिवेदन प्रस्तुत भइरहँदा विस्तारै हलमा उपस्थिति पातलिँदै गएको थियो । बाहिर भने सहभागीको चहलपहल बढ्दो थियो ।

एमालेले ६ हजार प्रतिनिधि सहभागी हुने दाबी गरेपनि सबै सहभागी नभएको उपस्थित संख्याले बताउँथ्यो । ओलीमय बनाइएको एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुमा के कति छलफल हुने हो र कुन कुन कुरा संशोधनसहित पारित हुने हो वा सवै प्रस्तावहरु गडड ताली बजाएर मात्र पारित हुने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

तस्बिरहरू हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *