ओलीसँग प्रधानमन्त्री र सभामुखले एक्लाएक्लै भेट्नुपर्ने एमालेको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले एक्लाएक्लै भेट्नुपर्ने प्रस्ताव गरेको छ ।

बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नगएको एमालेले अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाले अध्यक्ष अ‍ोलीसँग एक्लाएक्लै भेट्नुपर्ने प्रस्ताव गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताए ।

‘खासगरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरू हुन्, ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरूलाई आधार बनाएर समाधानमुखी तरिकाले डाइरेक्ट संवाद गर्दा भइगयो नि । अरु सबैसँग राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन, हामी त्यसो गर्न जरुरी ठान्दैनौँ‚’ उनले भने ।

प्रमुख सचेतक भट्टराईले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयकलाई संसदमा बेवारिसे छाडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानूनविपरीत रहेको पनि बताए ।

एमालेकै सांसद खगराज अधिकारीले संसदको अवरोध हटाउने प्रारम्भिक बिन्दु नै प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै भेट भएको बताए ।

सभामुख र प्रधानमन्त्रीले आफ्नो पार्टी अध्यक्षसँग एक्लाएक्लै भेटेपछि समस्या समाधानको उपाय निस्कन्छ भनेर सुझाएको तर, आफूहरुको सुझावविपरीत सर्वदलीय बैठक बोलाइएकाले दुवै सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उनको भनाइ छ ।

अब पनि प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टी अध्यक्षसँग एक्लाएक्लै भेटेर संसदको अवरोध हटाउने पहलको सुरुवात गर्नुपर्ने उनको भनाइ छ । ‘यो अवरोध साँच्चै नै खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेता, संवैधानिक परिषदको सदस्य हो । व्यक्तिगत रुपमा भेट्नुस्‚’ अधिकारीले प्रस्ताव राखे ।

सत्तारुढ गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत् गरेको ५२ जनाको नियुक्ति खारेज गर्न लागी परेको भन्दै सांसद अधिकारीले त्यो नियुक्ति खारेज गरे फेरि नियुक्ति गर्न नसकिने पनि दाबी गरे ।

‘प्रधानमन्त्रीले नियुक्ति (संवैधानिक आयोगहरुमा ओली नेतृत्वको सरकारले गरेको ५२ जनाको नियुक्ति) खारेज गर्दै हुनुहन्छ, अनेक उपाय गर्दै हुनुहुन्छ‚’ सांसद अधिकारीले थपे, ‘फेरि नियुक्ति हुँदैन‚ किनभने प्रमुख प्रतिपक्ष दल जाँदैन त्यहाँ‚ (संवैधानिक परिषदको बैठकमा) यस्तो जान्दाजान्दै किन निहुँ खोज्नुहुन्छ ? त्यसकारण व्यक्तिगत रुपमा भेट्नूस् त्यसपछि मात्रै सर्वदलीय बैठक राख्नुस् । प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग संवाद गर्न सक्नुहुन्न ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *