रात्रीकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल बनाउछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड-१९ को चपेटामा परेको पर्यटन र रात्रीकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताएका छन् । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताए ।

उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालीन व्यवसायलाई सम्मानित बनाउनुपर्ने बताए ।

‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रीकालीन व्यवसायलाई सम्मानित बनाऊँ,’ मन्त्री खाणले भने, ‘सरकार पर्यटन व्यवसायमैत्री छ । हामीले तपाईँहरूलाई स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा छौँ । तर नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।’

उनले पर्यटन व्यवसायीले भोगेको पिडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पिडामा सरकार संवेदनशील रहेको बताए ।

कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रह गरे । उनले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताए ।

‘म व्यक्तिगत रूपमा पर्यटन व्यवसायीको पक्षमा छु,’ मन्त्री खाणले भने, ‘तर मैले भनेर मात्रै भएन । कसरी ‘फुलफेज’मा पर्यटन व्यवसाय चलाउन सकिन्छ त्यो प्रशासनले विश्लेषण गरेर अगाडि बढ्ने तयारीमा हामी छौँ । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय चलाउनुभयो र सरकारका नीति नियम पालना गर्नुभयो भने सरकार तपाईँहरूको पक्षमा छ ।’

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको भन्दै उनले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताए । उनले पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाउन पनि आग्रह गरे । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले व्यवसाय, पर्यटक र शान्ति सुरक्षालाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *