‘यूके लाहुरे हुँ’ भनेपछि लोभिइन् महिला, ठगे लाख  

काठमाडौँ । फेसबुकमा आफूलाई यूकेको लाहुरे हुँ भन्दै चिनाउने व्यक्तिबाट एक जना महिला ठगीमा परेकी छिन् । भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ लिम्खिया घर भएका केदार राईले यस्तो ठगी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै महिला साथीलाई केडी गोर्खालीको आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएका थिए । ‘म यूकेको लाहुरे हुँ, हाल यूकेमा छु,’ भन्दै उनले ती महिलालाई माया गर्ने र उतै लैजाने प्रलोभन देखाउने गरेका थिए ।

इटहरीमा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमतीको मृत्यु भएको बताउँदै उनले आफ्ना छोराछोरी लण्डनको होस्टेलमा राखेको भन्दै पीडित महिलाको विश्वास जितेका थिए । आमा भने नेपालमै रहेको भन्दै कथा बुनेका उनले गत साउन १६ गते म्यासेन्जरमा फोन तथा म्यासेज गरी आमा कलेजोको रोगी भएर ग्रान्डी अस्पताल अस्पताल भर्ना  गरिएको सुनाएका थिए ।

यस क्रममा रकम आवश्यक परेको र आफ्नो दाइ लिन आउने भन्दै विश्वासमा पारेर पटक पटक गरी ती महिलाबाट राईले नगद एक लाख ६० हजार रुपैयाँ, सुनको बेरुवा औँठी, सुनको लकेट सहितको सिक्री समेत धनमाल ठगी गरेको आरोप छ । महिलाको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।

महाशाखाको प्रारम्भिक अनुसन्धानका क्रममा फेसबुकमा साथी बनेर यूकेको लाहुरे हुँ भन्दै ठगी गर्ने भक्तपुरका केदार राई भएको खुल्न आएको हो । हाल काठमाडौँ बुढानीलकण्ठ १० चुनिखेल बस्ने केदार राईलाई पक्राउ गरी अहिले ठगी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =