बुद्ध एयरका यात्रुहरू भन्छन्ः

बाँच्ने आशा मारिसकेका थियौँ तर बाँचियो…

काठमाडौँ । सोमबार (आज) बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान सहज रूपमा विराटनगर विमानस्थलमा अवतरण हुन सकेन । ३/४ पटकसम्म प्रयास गर्दा पनि विमान अवतरण हुन नसकेपछि विमान पुनः काठमाडौँ नै फर्कियो ।

विमानस्थलका अधिकारीहरूकाअनुसार ल्याण्डिङ्ग गियर नखुलेका कारण विमानको अवतरणमा समस्या भएको हो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना पनि बन्यो । त्योसमेत हुन नसकेको यात्रु प्रताप लिम्बु बताउँछन् । ‘एकजना क्याप्टेनले भनेअनुसार प्लेनमा केही समस्या थियो रे,’ लिम्बुले भने, ‘थाहा छैन के भयो । जे होस् अहिले अवतरण भयो । खुसी भयौँ ।’

विराटनगरमै अत्तालिएर फर्किएका यात्रुहरू काठमाडौँ आएपछि पुनः झस्किए । काठमाडौँमा पनि ८/१० पटकसम्म प्रयास गर्दासमेत विमान अवतरण हुन नसकेपछि यात्रुहरूले ‘झ्याल खोल्नुस्, हाम फाल्छौँ’ भनेर भनेका थिए । तर, एयर होस्टेजहरूले ‘नअत्तालिनुस् जसरी पनि बचाउँछौँ’ भन्ने वचन दिए ।

माया मारिसकेका थियौँ

यात्रुहरूले आफूलाई माया मारिसकेको बताउँछन् । अवतरण भएपछि एक यात्रुले भनिन्, ‘हामी अत्तालियौँ । साथमा बच्चाहरू पनि थिए, त्यसपछि के गर्ने गर्ने भयौँ । त्यसपछि रुन थाल्यौँ । केही गर्न सकेनौँ । रुन शिवाय केही गर्न सकिएन । एक हिसाबले आफूलाई माया मारिसकेका थियौँ । नबाँचिने रहेछ भन्ने लागिसकेको थियो ।’

अर्का यात्रु अनमोल प्रधान पशुपतिनाथको कृपाले मात्रै बाँचेको सुनाउँछन् । ‘आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । त्यसपछि त झनै नबाँचिने रहेछ भन्ने लाग्यो । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौँ । सबैजना भित्र हात जोडेर बसिरहेका थियौँ,’ प्रधानले भनेका छन् ।

‘मर्छु होला भनेर घरमा भनिसकेको थिएँ’

यात्रु प्रताप लिम्बु आफूले घरमा मेसेज गरेर आफ्नो हालतबारे जानकारी दिइसकेको बताउँछन् । ‘मैले घरमा मेसेज गरेर बाँचे भने भेटौँला नभए मर्छु होला भनेर भनेको थिएँ,’ लिम्बुले भनेका छन् ।

अन्तिममा आएर विमान सहज रूपमा अवतरण हुँदा नयाँ जीवन पाएको उनी बताउँछन् । भने— ‘अन्तिममा नयाँ जीवन नै पाएजस्तो भयो नि, खुसी लाग्यो ।’

केही यात्रु बेहोश

केही यात्र बेहोशसमेत भएको यात्रु लिम्बुले बताए । ‘यस्तो समस्या हुँदा जोकोहीलाई पनि गाह्रै हुन्छ,’ लिम्बुले भने, ‘यस्तो हुँदा केही यात्रुहरू त मुर्छा नै पर्नुभयो । २/३ जना त बेहोश नै हुनुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *