क्लब फुटबलका ‘महान्’ खेलाडी रोनाल्डो : विश्वकप जित्ने सपना सधैं अधुरो

काठमाडौं। कृस्टियानो रोनाल्डो क्लब फुटबल इतिहासका सर्वाधिक सफल र प्रभावशाली खेलाडीमध्ये एक हुन्। पाँच पटकका ब्यालन डी’ओर विजेता, पाँच पटकका यूईएफए च्याम्पियन्स लिग च्याम्पियन तथा विभिन्न घरेलु लिग र कप प्रतियोगिताका कीर्तिमानी विजेता रोनाल्डोले क्लब फुटबलमा सफलता र उपलब्धिको शिखर चुमे।
तर, अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप भने उनका लागि सधैं अधुरो सपना बनिरह्यो। सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप यात्रा सधैंका लागि टुंगिएको छ।
लगातार छ फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर उनले नयाँ इतिहास रचे पनि पोर्चुगललाई विश्वकपको उपाधि दिलाउने लक्ष्य भने पूरा गर्न सकेनन्।
रोनाल्डोले पहिलो पटक सन् २००६ को जर्मनी विश्वकप खेलेका थिए। त्यो संस्करणमा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो, जुन उनको विश्वकप करियरकै उत्कृष्ट उपलब्धि बन्यो। त्यसपछि २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ मै स्पेनसँग पराजित भयो।
सन् २०१४ को ब्राजिल विश्वकप रोनाल्डोका लागि सबैभन्दा निराशाजनक रह्यो। पोर्चुगल समूह चरणबाटै बाहिरियो। २०१८ को रसिया विश्वकपमा पनि टोली अन्तिम १६ मा उरुग्वेसँग पराजित हुँदै घर फर्कियो। सन् २०२२ को कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगे पनि मोरक्कोसँग अप्रत्याशित हार बेहोर्नुपर्यो।
खेल सकिएपछि मैदानमै भावुक बनेर आँसु झारेका रोनाल्डोको दृश्य विश्वभरका फुटबल समर्थकका लागि सम्झनलायक क्षण बनेको थियो। अन्तिम विश्वकपको रूपमा हेरिएको २०२६ संस्करणमा पनि रोनाल्डोको यात्रा अन्तिम १६ मै टुंगियो। इबेरियन प्रतिद्वन्द्वी स्पेनसँग १–० ले पराजित भएपछि उनले विश्वकपसँग अन्तिम बिदाइ गरे।
क्लब फुटबलमा भने रोनाल्डोको करियर अतुलनीय रह्यो। म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र जुभेन्टस जस्ता विश्वका प्रतिष्ठित क्लबबाट खेल्दै उनले घरेलु लिग, राष्ट्रिय कप तथा युरोपेली क्लब फुटबलका लगभग सबै प्रमुख उपाधि जिते।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनले पोर्चुगललाई सन् २०१६ को युईएफआ युरोपियन च्याम्पियनसिप र युईएफए नेशनल लिग को उपाधि दिलाएर देशको लामो प्रतीक्षाको अन्त्य गराएका थिए।
स्पेनसँगको खेलअघि रोनाल्डोले भनेका थिए, “मैले फुटबलका लागि आफ्नो शतप्रतिशत होइन, एक हजार प्रतिशत दिएको छु। विश्वकप जित्न नसके पनि मेरो मन सफा छ, किनभने मैले पोर्चुगलका लागि मैदानमा जे गरेँ, त्यसमा मलाई गर्व छ।”
फुटबल इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता (१४६ गोल) का रूपमा परिचित रोनाल्डोको विश्वकप यात्रा सफलताभन्दा बढी संघर्ष, निराशा र अधुरो सपनाको कथा बन्यो। विश्वकपको ट्रफी उचाल्न नसके पनि क्लब फुटबलमा उनले बनाएका कीर्तिमान, पोर्चुगलका लागि दिएको योगदान र विश्व फुटबलमा छाडेको प्रभावका कारण उनको नाम सधैं महान् खेलाडीहरूको अग्रपंक्तिमा रहनेछ।








