नेपाल क्रिकेट संघका दुई वर्ष

ह्वाटमोरको बहिर्गमनमा क्यान कति दोषी ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ नेतृत्व आएको दुई वर्ष बित्यो । योबीचमा क्रिकेट विकासका लागि भएका गतिविधि नगण्य मात्र छन् । तर, क्रिकेट राजनीति उत्कर्षमा पुगेको कुरामा भने दुईमत छैन ।

पछिल्लो समय नेपालले एक अनुभवी र आशा गरिएका प्रशिक्षक गुमाएको छ । दुई वर्षमा क्यानले गरेको राम्रो काम थियो‚ नेपाली राष्ट्रिय क्रिकेट टिममा डेभ ह्वाटमोरलाई भित्र्याउनु । तर यो सफलता क्यानले नै कायम राख्न सकेन । ह्वाटमोरलाई अनुबन्धको ९ महिना पनि नबित्दै नेपाली क्रिकेट टिम छोड्नु उत्तिकै दुःखद कुरा हो । ह्वाटमोर नेपालको राष्ट्रिय टिम छोडेर भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षकका लागि सहमत हुनुका पछाडि विशुद्ध पैसामात्रै कारण छैन । क्यानभित्रको राजनीति पनि उत्तिकै जिम्मेवार छ ।

ह्वाटमोरले यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-टूअन्तर्गतको नेपाल,  ओमान र अमेरिका बीचको त्रिकोणात्मक सिरिजको भ्रमणकै क्रममा राजीनामा दिए । क्यानले यसलाई अप्रत्याशित भन्यो । आफ्नो प्रशिक्षकले भारतीय क्लबमा अनुबन्ध गर्दासम्म क्यानले चाल नपाएको अभिनय गर्‍यो । जुन अत्यन्तै गैरजिम्मेवार कुरा हो ।

ओमान भ्रमणलगत्तै उनी भारतीय प्रथम श्रेणी क्रिकेट इतिहासकै सबैभन्दा महँगो प्रशिक्षक भएर भारत गए । उनले मुख्य प्रशिक्षक बापत वार्षिक १ करोड भारतीय रुपैयाँ अर्थात् १ करोड ६० लाख नेपाली रुपैयाँमा सम्झौता गरेका छन् । नेपालमा उनलाई मुख्य प्रशिक्षकको रूपमा ८ हजार डलर मासिक दिइँदै आइएको थियो ।

६७ वर्षीय ह्वाटमोरले आगामी घरेलु सिजनबाट भारतीय क्लब सम्हाल्नेछन् । उनी ओमानबाट सिधै बरोडा पुगिसकेका छन् र स्थानीय प्रशिक्षकहरूसँग छलफल र अभ्यासस्थलको निरीक्षणसमेत गरिसकेका छन् ।

नेपालमा रहँदा प्रशिक्षक ह्वाटमोर आएदेखि नै उनले खेलाडी र क्यानबीचको तिक्तता देखे । नेपालमा हुने सीमित घरेलु क्रिकेट देखे । सीमित प्रतियोगिता र चरम राजनीतिले छोटो समयमा नै निराश भएका ह्वाटमोरले भारतको ए श्रेणीबाट आएको राम्रो अफर इन्कार गर्न सकेनन् । अन्ततः उनी आफ्नै सम्झौता तोड्दै भारत लागे । एक वर्षको अनुबन्ध बीचैमा तोड्नु ह्वाटमोरको पनि बेइमानी अवश्य हो‚ तर त्यसभन्दा बढी क्यानको किचलो र सुस्त पारा जिम्मेवार हो भन्न गाह्रो छैन ।

श्रीलंकालाई १९९६ मा एकदिवसीय विश्वकप जिताएका प्रशिक्षक ह्वाटमोरको ९ महिने कार्यकालमा नेपालले केवल एउटा टी-२० अन्तरराष्ट्रिय श्रृंखला र एउटा एकदिवसीय अन्तरराष्ट्रिय श्रृंखलामात्र खेल्यो । उनले टी-२० श्रृंखलामा नेदरल्यान्ड र मलेसियालाई पराजित गर्दा उनको उपस्थितिले नेपाली क्रिकेटमाथि पुग्ने ठानिएको थियो । तर उनले एकदिवसीय महत्त्वपूर्ण शृङ्खलाअघि नै राजीनामा दिए । जुन अप्रत्याशित ठानियो ।

जाँदा जाँदै उनले केही अर्थपूर्ण भनाइहरू राखे । उनले नेपालमा प्रतियोगिता नहुने र आईसीसीको मुखमात्रै ताक्ने काम भएको इङ्गित गरे । उनले भने ‘आईसीसी प्रतियोगिता कुर्नुभन्दा आफैँले महत्त्वपूर्ण खेलहरू आयोजना गर्न सक्नुपर्छ । नेपालमा घरेलु प्रतियोगिता धेरै हुनु अपरिहार्य छ ।’ उनले नेपाली खेलाडीको ब्याटिङमा कमजोरी रहेको बताए । यद्यपि सुधार गर्न सकिने बताउँदै उनी बिदा भए । अब फेरि अर्को प्रशिक्षक खोज्ने जिम्मेवारी क्यानसामु छ ।

थाहा छैन,  सुस्त क्यानले कति समयपछि खोज्न थाल्ने हो र कहिले भेट्टाउने हो‚ नेपाली क्रिकेटको नयाँ प्रशिक्षक ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *