विभागीय टीमको विजयी सुरूवात

काठमाडौँ । आइतबारबाट सुरु भएको छैटौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसीपमा पुरुषतर्फ विभागीय क्लबहरूले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५-८, २५-१४ र २५-७ को सहज सेटमा जित हासिल गर्‍यो ।

दोस्रो खेलमा नेपाल एपीएफ क्लबले ढोरपाटन स्पोर्टस क्लबमाथि ३-१ को सेटमा जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक सेटमा २६-२८ ले गुमाएको एपीएफले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१८ को जित निकालेको एपीएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो ।

तेस्रो खेलमा बाग्लुङको गल्कोट स्पोर्टस् क्लब बागमती प्रदेशमाथि एकपक्षीय जित निकाल्न सफल भयो । पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले खेल आफ्नो पक्षमा पार्‍यो । त्यस्तै तेस्रो सेटमा २५–१३ को जित निकाल्दै एकपक्षीय रुपमा खेल आफ्नो पक्षमा पार्‍यो । च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुनेछ । च्याम्पियनसीपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

विजेता पुरुष र महिला टोलीले समान ४-४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले २-२ लाख तथा तेस्रो हुनेले १-१ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =