‘कुनै पनि हालतमा ‘छाउपडी’ गीत सार्वजनिक हुन्छ’

काठमाडौँ । महिनावारी भएका बेला घरभन्दा परको गोठमा बस्नुपर्ने नियम‚ अर्थात् ‘छाउपडी’को विषयमा पटकपटक सवाल उठ्ने गरेको छ । यो हटाउनुपर्ने भनेर धेरै बहस र दबाब बढाउने काम पनि भइरहेको छ । पछिल्लो समय यो प्रथा केही कम भए पनि पूरै हट्न भने सकेको छैन । छाउपडी अन्त्यका लागि गृह मन्त्रालयले सम्बन्धित डेढ दर्जन जिल्लामा विशेष अभियान नै चलाएको छ । तैपनि यो हट्न सकेको छैन । अहिले समाज केही लचिलो भए पनि कतिपय स्थानमा छाउ गोठमै किशोरी तथा महिलाले ज्यान गुमाउने गरेका समाचारहरू आइरहेका छन् ।

यो कुप्रथा अन्त्यका लागि अनेकौँ प्रयास भइरहेका छन् । चेतना अभिवृद्धिका लागि पनि प्रयासहरू भइरहेका छन् । यही विषय समेटेर रमेश दाहालले गीत लेखेका छन् । जसमा सोफिया थापाको संगीत र स्वर छ ।

गीतको बोल यस्तो छ-

हुन्न धर्म छाउपडीको कुडी सुत्यार
फालौँ अब कुसंस्कार सबै किल्याएर

संसारले अनुहार फेर्न्या भो
जीवन हम्रा गोठमै मर्न्या भो

अरू हिन्न्या विज्ञान पढेर
हामी बस्न्या पाटामै सडेर

कति बस्नु देवी–देउतासँग डरा’र
बाँचौँ अन्ध-विश्वासको जरो फालौँ

सुत्केरीमा कुपोषण लायो नि
धारा–पानी, कुवामा बार्‍यो नि

छाउ–कुडीमा चिसोले ज्यान गो
बाघले खान्या, सर्पले टोक्न्या भो

लाग्यो रोग दूध–दही खान बारेर
छोडौँ अब कुसंस्कार कानून मानेर

कर्णालीका १० जिल्लामा लामो समय काम गरेका दाहाललले कामका सिलसिलामा त्यहाँ रहँदा देखेको अवस्थाले नराम्ररी चिमोटेपछि त्यसविरुद्ध अलिकति भएपनि आवाज उठाउन सकिन्छ भनेर यो गीत लेखेको बताउँछन् । तर गीत सार्वजनिक नहुँदै विवाद र आलोचनामा तानिएको छ । गीतका शब्द सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि गीत सार्वजनिक गरेमा कानूनी लडाइँ लड्नेसम्मका धम्की आउन थालेको दाहाल र थापा बताउँछन् ।

रमेश आफूले लेखेको गीतले कुनै पनि कानूनको उल्लङ्घन नगरेको दाबी गर्छन् । ‘यो गीत पढे/लेखेका शिक्षित आधुनिक महिलाका लागि बनाइएको होइन । अझै पनि कर्णालीका कतिपय भेगका महिला छाउगोठमा बस्न बाध्य छन् । उनीहरूलाई जागरूक बनाउन यो गीत लेखिएको हो‚’ उनी गीत लेखनको उद्देश्य प्रष्ट पार्दै भन्छन्‚ ‘छाउपडी प्रथा कुरीति हो‚ र यस विषयमा गीत लेखेर केही हदसम्म भए पनि चेतना फैलाउन सकिन्छ भने किन नगर्ने भन्ने लागेर नै मैले लेखेको हुँ ।’

यता अभियन्ता राधा पौडेलले भने सामाजिक सञ्जाल मार्फत नै गीतले कानून उल्लङ्घन गरेको बताएकी छन् । छाउपडी शब्द प्रयोगले सम्पूर्ण सुदूरपश्चिम क्षेत्रको बदनाम गर्ने भएकाले गीतमा उक्त शब्द समेटिनु नहुने उनको जिकीर छ ।

गीतकार दाहाल भने यो गीतको विषयमा विवाद गर्नु जरुरी नरहेको बताउँछन् । सामाजिक सञ्जालमा विरोध गर्नेप्रति लक्षित गर्दै यो गीतले सुदूरपश्चिममा महिनावारी विषयअन्तर्गत रहेर काम गरिरहेका संस्थाका लागि समेत सहयोग पुर्‍याउने उनी बताउँछन् । ‘फेसबुकमा गीत सार्वजनिक गरे कानूनी उपचार खोज्छौँ, पाता फर्काउँछौँ भन्ने जस्ता कुरा लेखिएको रहेछ । तर हामीले कुनै कानून उल्लङ्घन गरेका छैनौँ‚’ उनी भन्छन्‚ ‘सञ्चार माध्यममा पटक पटक उठेको विषय नै उठाएका छौँ । यो विषय अन्त्य होस् भन्ने चाहनाले मैले यो चेतनामूलक गीत लेखेको हो ।’

राधाले उठाएको अर्को विषय देशैभर महिनावारीको समयमा विभेद हुन्छ भन्ने बारेमा समेत दाहालले जवाफ दिएका छन् ।

उनले यो गीतले छाउपडीको विषय उठाए पनि अन्य सबै कुरीतिको विषयमा आवाज उठ्नुपर्ने बताएका छन् । एउटा गीतमा सीमित विषयमात्रै समेट्न सकिने भएकाले अहिलेको विषय यो भए पनि अन्य भेगमा महिनावारीको समयमा छुवाछुत छैन नभनेको उनको तर्क छ । गीत निकाल्ने विषयमा उनी भन्छन्‚ ‘कसैले पाता फर्काए पनि, गोली हाने पनि यो गीत निस्किन्छ । एक मिनेटकै लागि किन नहोस्‚ यो गीत सार्वजनिक हुन्छ ।’

उनी थप्छन्, ‘यो मुद्दा कुनै क्षेत्रको मुद्दा भन्ने होइन । नेपालभर जहाँसुकै‚ जसले पनि आफ्नो देशमा भएको कुरीतिको विषयमा आवाज उठाउन सक्छ ।’ यो कसैको व्यक्तिगत समस्या वा एजेन्डा नभएर सम्पूर्ण नेपालीले बुझ्नुपर्ने र अन्त्य गर्नुपर्ने विषय भएको भन्दै यसलाई आफूले नजिकबाट नियालेको हुँदा आफ्नो लेखकीय धर्ममात्रै निभाएको उनले बताए ।

‘मलाई कुनै भेग‚ धर्म‚ क्षेत्रको आधारमा कसैलाई हेप्नुपर्ने छैन । मेरो उद्देश्य पढ्न नपाएका दिदी बहिनीलाई सचेत बनाउन स्थानीय शब्द प्रयोग गरेर, धर्मले छाउपडी मान भन्दैन भन्ने विषय उठान गर्नु हो‚’ उनले भने‚ ‘सर्पले टोकेर, चिसो लागेर महिला मारिरहेकोमा तिनै महिलालाई जागरूक बनाउन यो गीत तयार गरिएको हो ।’

मुलुकी अपराध संहिता ऐन २०७४ मा भएका कुनै पनि प्रावधान उल्लेख नगरी यसको प्रस्तावनालाई नै आधार मानेर आफूले गीत लेखेको उनले जिकीर गरे ।

सोफियाले अघिल्लो वर्ष तीजमा सार्वजनिक भएको गीत ‘यसपालिको तीज‚ नो व्रत प्लिज’ यूट्यूब च्यानलबाट हटाउनुपरेको थियो । भलै उनले अहिले त्यो गीत आफ्नै च्यानलबाट अपलोड गरेकी छन् ।

सोफियाले सामाजिक सञ्जालमा ‘छाउपडी’ गीत गाएको विषय सार्वजनिक गरिन् । उनलाई किन यो गीत गाएको ? ‘छाउपडी’ शब्द प्रयोग गर्न पाइँदैन भनेर प्रश्न गरियो । उनले सञ्चार माध्यमहरूमा यही विषयमा समाचार बनिरहेका छन् भने किन गीत गाउन नपाइने ? भनेर प्रतिप्रश्न गरिन् । कुराकानीको अन्त्यपछि उनै प्रश्न गर्ने अभियन्ताले अधिकारकर्मी, पत्रकारलगायतलाई ट्याग गर्दै यो गीत सार्वजनिक गरे कानूनी लडाइँ लड्ने व्यहोराको पोस्ट सार्वजनिक गरिन् ।

संविधानमा समेत उल्लेख भएको ‘छाउपडी’ शब्द किन प्रयोग गर्न नहुने भन्ने जिज्ञासाले सोफियालाई अझै छाडेको छैन । महिनावारीमा विभेद देशैभर भएको तर्कको जवाफमा सोफिया भन्छिन्, ‘विभेद छ । धेरै विषयमा छ । तर एउटा गीतले समेट्न सक्ने गरी यो पटकको गीतमा छाउपडी समेटिएको हो । नलेखिएको कुराको गलत व्याख्या नगरियोस् ।’

छाउपडी शब्दले सुदूरपश्चिमको अपमान हुन्छ भन्नेहरूको जवाफमा सुप्रिया थप्छिन्, ‘कुप्रथा, विभेदको कुराले अपमान हुन्छ भने कुनै पनि कुप्रथा, विभेदको कुरै गर्नुभएन नि ।’

गीतको अडियो रेकर्ड भएको छ । भिडिओको काम चल्दै गरेकाले छिट्टै नै गीत सार्वजनिक गर्ने सुप्रियाको तयारी छ । कुनै पनि हालतमा गीत सार्वजनिक गर्ने उनले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *