नेपालमा अनलाइन सञ्चारमाध्यमको संख्या २,७६० पुग्यो

काठमाडौँ । नेपालमा अनलाइन सञ्चारमाध्यमको संख्या २ हजार ७६० पुगेको छ । प्रेस काउन्सिलकोे ४६औं वार्षिक प्रतिवेदनअनुसार २ हजार ७६० वटा अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् । काउन्सिलले ०७० साल १६ साउनदेखि अनलाइन सञ्चार माध्यम सूचीकरण गर्न थालेको थियो । पछि ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, ०७३’ जारी भएपछि अनलाइन सञ्चारमाध्यमहरु सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था गर्‍यो ।

पछिल्लो आर्थिक वर्ष ०७७/७८ मा मात्रै ६२२ वटा अनलाइन सञ्चारमाध्यम थपिएका छन् । जसमा प्रदेश नं. १ बाट ४३, प्रदेश नं. २ बाट ३५, बाग्मती प्रदेशमा ३६३, गण्डकी प्रदेशबाट ६४, लुम्बिनी प्रदेशबाट ५७, कर्णाली प्रदेशबाट ३३ र सुदुरपश्चिम प्रदेशबाट २७ वटा अनलाइन दर्ता भएका छन् ।

त्यसबाहेक दर्ता नै नभई सञ्चालन भएका अनलाइनको तथ्यांक काउन्सिलसँग छैन । काउन्सिलले त्यस्ता सञ्चारमाध्यमहरुको अभिलेखीकरण, सूचीकरण र आचारसंहिता पालना गरे/नगरेको अनुगमन र नियमन गर्दै आएको छ ।

काउन्सिलले सञ्चार माध्यमहरुको विकास भएपनि गुणस्तर खस्किँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ । ‘संख्यात्मक रूपमा सञ्चार माध्यमहरु तीव्र वृद्धि भएपनि गुणस्तर खस्कँदो छ । राजनीतिक दलका अधिकांश नेता मात्र होइन, सबै क्षेत्रका अगुवाहरूले आफूलाई समर्थन गर्नका लागि एउटा पत्रकारलाई समातेर अनलाइन सञ्चारमाध्यम सञ्चालन गराउने परिस्थिति छ,’ काउन्सिलले आफ्नो प्रतिवेदनमा भनेको छ ।

काउन्सिलकाअनुुसार आर्थिक वर्ष ०७७/७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल संख्या ७ हजार ८७४ छ । त्यसमध्ये दैनिक ७४४, अर्धसाप्ताहिक ३९, साप्ताहिक २९५६, पाक्षिक ४७६, मासिक २३४७, द्धैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७, वार्षिक ९३ वटा रहेका छन् । तर, दर्ता भएका धेरैजसो पत्रपत्रिकाहरु भने कोभिड १९ को प्रभाव र बन्दाबन्दीका कारण प्रकाशनमा छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *