बैंगलोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले आरसिबीलाई ६ विकेटले पराजित गरेको हो ।
आरसिबीले दिएको १५७ रनको लक्ष्य पछाएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले ३८ रन बनाए भने अम्बाती रायडुले ३२, फाफ डु प्लेसिसले ३१ रन बनाएका थिए । त्यस्तै मोइन अलीले २३ रन बनाए भने सुरेश रिनाले १० बलमा अविजित १७ रन बनाए । त्यस्तै महेन्द्रसिंह धोनीले अविजित ११ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आरसिबीले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो । आरसिबीका लागि देवदत्त पाडीकलले सर्बाधिक ७० रन बनाए भने कप्तान विराट कोहलीले ५३ रन बनाए । त्यस्तै एबी डिभीलियर्सले १२ र ग्लेन म्याक्सवेलले ११ रन बनाए । चेन्नईका बलर डवाने ब्राभोले ३ विकेट लिए भने श्रदुल ठाकुरले २ र दीपक चहरले एक विकेट लिए ।
यो जितपछि चेन्नई सुपरकिंग्सले यस सिजनमा ९ खेलमा ७ जित हासिल गर्दै १४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । १४ अंकनै रहेको दिल्ली क्यापिटल्स रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आरसिबीको ९ खेलमा ५ जित र ४ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।








