सरोजलाई सिक्न सकस (तस्बिरहरू)

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका- २ राजकुमारी टोलका सरोज सरदार १४ वर्षका भए । उनी अहिले ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको रवी आधारभूत विद्यालयमा पढ्छन् । उनी जन्मजात अपाङ्ग हुन् । आर्थिक अवस्था कमजोर रहेको सरोजको परिवारमा सबै मजदुरी गरेर जीवन गुजारा गर्छन् । जन्मजात अपाङ्ग रहेका उनको घाँटीमुनिको भाग चल्दैन ।

बुझ्ने र सोच्न सक्ने क्षमता भने राम्रो रहेको उनको परिवार बताउँछ । सरहरूले पढाएका कुरा सबै बुझन सक्ने भएपनि आफूले लेख्न नसक्ने गरेको उनले बताए । राम्रोसँग बोल्न समेत नसक्ने उनलाई घरदेखि नै भाइले ह्वीलचियरमा विद्यालय लिएर आउने गरेका छन् । सानैदेखि सबै विद्यालय गएको देख्दा उनलाई पनि विद्यालय जान मन लाग्थ्यो । घिस्रँदै विद्यालय आउँदा उनको खुट्टाभरि घाउ भएको देखेपछि विभिन्न संघसंस्थामा भनेर ह्वीलचियरको व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।

सरोज आफैँ खानासमेत खान नसक्ने र अरुले खुवाइदिनुपर्ने अवस्थाका हुन् । अहिले घरबाट विद्यालय ल्याउने र विद्यालयबाट घर पुर्‍याउनेदेखि विद्यालयमा भएका बेला शौचालय पुर्‍याउने/ल्याउने सबै काम सरोजका भाइ (मामाको छोरा) अभय सरदारले गर्दै आएका छन् ।

तिनै अभयले पढेको र लेखेको कुरा जानेर सरोजले सिक्छन् । पढाएको कुरा अरु विद्यार्थीभन्दा सहजै टिप्न सक्ने क्षमता सरोजमा रहेको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले बताए ।

विद्यालयमा अरु विद्यार्थीहरू नियमित विद्यालय नआएपनि उनी सधैँ विद्यालय आउने गरेको प्रअ सरदारको भनाइ छ। लेख्नै नसक्ने भएकाले विद्यालयले हरेक परीक्षामा उनलाई मौखिक परीक्षा लिने गरेको छ । ‘सरोज अत्यन्त अप्ठ्यारो अवस्थाका अपाङ्गता भएका विद्यार्थी हुन्,’ विद्यालयका प्रअ सरदारले भने, ‘घरबाट विद्यालयसम्म ल्याउनको लागि उसको भाइले ल्याउँछन्, विद्यालयमा आएपछि उसलाई अरु साथीले पनि सहयोग गर्नुपर्छ भनेर सिकाइएको छ।’ दलित समुदायको बालबालिका मात्र पढ्ने यो विद्यालयमा अहिले ५ सयको हाराहारीमा विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *