सन्दीपको एकदिवसीय वरियतामा १२ स्थान सुधार

काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय बरीयतामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १२ स्थान सुधार गरेका छन् ।

एक साता अघि पहिलो पटक शीर्ष सय (९१)  स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औँ स्थानमा आफूलाई पुर्‍याएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शीर्ष एक सयभित्र पर्ने पहिलो नेपाली खेलाडी हुन् । सन्दीप सँगै ७९ औँ बरीयतामा बंगलादेशका तीव्र बलर रुबेल हुसेन समेत रहेका छन् । ओमान भ्रमणमा गरेको प्रदर्शनले सन्दीपलाई बरीयतामा माथि ल्याएको हो ।

सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या, अस्ट्रेलियाका मिचेल मार्श, मार्कुस स्टोइनिस, लगायत खेलाडीलाई पछि पारेका छन् । बरीयताको शीर्ष एक सय भित्र अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेनन् । २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शीर्ष सयमा स्थान बनाउन सकेनन् ।

तर ओमान भ्रमणमा सन्दीपले आफूलाई स्थापित गरे । ओमान जानु अघि सन्दीप १२८ औँ स्थानमा रहेका थिए । नेपालले ओमान भ्रमणका क्रममा पपुवा न्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जहाँ सन्दीपले ४ र ६ गरी १० विकेट लिएका थिए । त्यसपछि ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा सन्दीपले ८ विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

२०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप तेस्रो स्थानमा रहेका छन् । उनले यो वर्ष ६ खेलमा ५ इनिङ खेल्दै १८ विकेट लिइसकेका छन् । उनी भन्दा अघि श्रीलङ्काका दुश्मन्था चमिरा २० विकेट तथा आयरल्याण्डका सिमि सिंह १९ विकेटका साथ अघि रहेका छन् । बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दीपको समान १८ विकेट लिएका छन् ।

सन्दीप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलको १५ इनिङ्समा ४१ विकेट तथा टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *