युवा खेलाडीमा गरेको लगानी टिममा देखिन थालेको छ : कप्तान मल्ल

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फर्किएको छ । टोली ओमान र अमेरिकासँग दुई दुई खेल खेलेर मंगलबार स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घका तर्फबाट सदस्य छुम्बी लामाले स्वागत गरेका थिए । नेपालले टुरका चार खेलमध्ये २ मा जीत र २ मा हार ब्यहोरेको थियो । नेपालले एक दिवसीय खेलमा पहिलोपटक ओमानलाई हरायो भने अमेरिकासँग पहिलोपटक पराजित भयो ।

कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै आगामी दिनमा थप परिपक्व हुँदै जाने बताए । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान मल्लले बताए । युवा खेलाडीमा गरेको लगानीको नतिजा टोलीमा देखिन थालेको उनले बताए ।

कप्तान मल्लले प्रतियोगितामा अझै राम्रो नतिजा ल्याउन युवा खेलाडीका लागि धेरै भन्दा धेरै खेल खाँचो रहेको पनि बताए । प्रशिक्षक डेभ ह्वाटमोरको प्रभाव पनि टोलीमा राम्रो परेको तर लामो समयको योजना बनाएर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । नेपालले प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको छ । जसमध्ये चार खेल जितेको नेपाल चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *