संखुवासभा सामूहिक हत्याकाण्डमा प्रहरीको दाबी फेरियो, के भन्थ्यो पहिले‚ के भन्छ अहिले ?

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको विषयमा प्रहरीले नै फरक फरक दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले घटनाका मुख्य योजनाकार भनेर ४७ वर्षीय खड्गबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । जबकी यसअघि प्रहरीले लोकबहादुर कार्की नै मूख्य अभियुक्त रहेको र उनैले ६ जनाको हत्या गरेको दाबी गरेको थियो ।

प्रहरीले यसअघि घटनामा धारिलो हतियारको प्रयोग नभएको बताउँदै आएकोमा सोमबार पत्रकार सम्मेलनमा हत्यामा अलैँची टिप्ने छुरिको प्रयोग भएको बताएको छ । यसअघि घटनामा लोकबहादुर मात्र संलग्न रहेको भनिएकोमा‚ अहिले आएर थप ४ जनालाई पक्राउ गरी सार्वजनिक मात्र गरिएको छैन, ‘मूख्य योजनाकार’ नै अर्कै रहेको ‘अनुसन्धानबाट खुलेको’ भनिएको छ । अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको भनेर नियन्त्रणमा लिएको भएपनि प्रहरीको यसअघिको र अहिलेको भनाइ फेरिएको छ ।

प्रहरीले सोमबार घटनामा छुरा प्रहार गरिएको दाबी गरेको छ । यसअघि प्रहरीले धारिलो वस्तुले नभई चिर्पट वा काठको प्रहारबाट हत्या गरिएको भनेको थियो । लोकबहादुरले चिर्पटले हानेर हत्या गरेको स्वीकारेको र चिर्पट बालिसकेको बताएको प्रहरीको भनाइ थियो ।

प्रहरीले सोमबार बताएअनुसार पाँच जनाको समूहले हत्या गरेको र घटनाको योजना लोकबहादुर कार्कीको घरमा भएको हो । घटनाको अघिल्लो रात ८ बजे ‘मुख्य योजनाकार’ खड्गबहादुर कार्कीसहित पाँचै जना बसेर हत्या योजना बनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सुभेष अधिकारीले दाबी गरे ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँबाट बेग्लाबेग्लै टोली खटिएको थियो । प्रदेश प्रहरीका प्रमुख डीआइजी ‍‍‍अरुणकुमार बीसी स्वयम् घटनास्थलमा पुगेर केही दिनपछि मात्र फर्किएका थिए । डीआइजीसहितको टोली र सीआईबीको टोली फर्केको दोस्रो हप्ता जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपित र हत्याको प्रकृतिबारे फरक दाबीसहित विवरण सार्वजनिक गरेको हो ।

प्रहरीले सोमबार ४७ वर्षीय खड्गबहादुरसँगै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई सार्वजनिक गरेको छ ।

गत भदौ २१ गते ८४ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिपेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनले नै सबैको हत्या गरेको दाबी प्रहरीको थियो ।

अहिले सार्वजनिक गरिएकाहरूको योजनाअनुसार घटनाको दिन बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने योजना बनेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । हत्या गरेको अन्यले थाहा पाए उनीहरूको पनि हत्या गर्नुका साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लैजाने योजना रहेको पनि प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार यस्तो छ घटना प्रकृति:
घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत खेताला जाने कुरा पहिला नै निश्चित भइसकेको थियो । योजनाअनुसार मृतक तेजकुमार बिहान आउने निश्चित गर्न खड्गबहादुर बिहान ५ बजे नै तेजकुमारको घरमा गएर ‘लोकबहादुर अल्छि छ‚ घरमै गएर खेताला निश्चित गर्नू भनी तेजकुमारलाई लोकबहादुरको घरमा जान लगाइ घरतर्फ फर्केको र तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुरले घर पछाडि चिर्पट लिएर तयारी अवस्थामा बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक तेजकुमार बिहानै पाँच बजे खेताला निश्चित गर्न लोकबहादुरको घर गएर लोकबहादुरलाई ‘अल्छि ! अझैसम्म उठेको छैनस् ?’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश र उनीहरूका बुबा रणवहादुरसमेत घरमै रहेको प्रहरीले जनाएको छ । घरबाट फर्किने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई ईशारा गरी आफूले दाउराको चिर्पट र अलैँची टिप्ने धारिलो हतियार बोकी पछि पछि गएको‚ घर पछाडिको गोगनको रूख नजिक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुरले चिर्पटले तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले धारिलो हतियारले पेटमा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको दाबी छ ।

तेजकुमारलाई हत्या गरी डिलबाट लडाई बाटोमा झारी घोप्टो पारेको र घटनाको बेला मृतकले ‘लोकेले मार्‍यो, मलाई नमार्’ भन्दै हार/गुहार गरेको सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजकुमारको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमलालाई प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्‍यो, मलाई नमार्’ भन्दै गरेको हार/गुहार सुनेपछि मेरो श्रीमानलाई नमार भन्दै तेजकुमारको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको प्रहरीको दाबी छ ।

‘मृतक रञ्जनाको शव रणबहादुर र नरेशले मिलेर कमलाको लाश भएको स्थानसम्म पुर्‍याउन सहयोग गरेको पाइयो,’ प्रहरी भन्छ ‘उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले मुख थुनेर चिर्पटले हिर्काएर घाँटी बटारेर हत्या गरेको देखिन्छ ।’

हत्या गरेर पाँचै जना मृतकको घरतर्फ गएको र घरमा ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेका थिए । त्यहाँ लगेपछि लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घर गएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

उनीहरूले हत्या गरेपछि रगत पखाली छुरी बुइकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरूसमेत लुकाएर खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर फर्किएको र फर्कने क्रममा रञ्जनाले बोक्ने मोबाईल नरेशले लिएर गएको र स्वीच अफ गरेर घरमुनिको ओडारमा लगेर लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले लोकबहादुरको घरबाट हिँडेका खड्गबहादुर र निजका छोरा हस्तबहादुर फेरि त्यही घरमा फर्किएको‚ र कसैले सोधे थाहा नभएको, घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने सहमति भएको दाबी प्रहरीको छ । लोकबहादुरले मानसिक रोगको औषधि पनि खाने गरेका कारण उसैले जिम्मा लिने भन्ने सल्लाह भएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *