प्रहरी भन्छ- ६ जनाको हत्यामा ‘ब्लन्ट फोर्स’ प्रयोग

विराटनगर । संखुवासभाको मादी गाउँपालिका १ मा एकै परिवारका ६ जनाको हत्यामा धारिलो हतियार नभई ‘ब्लन्ट फोर्स’ प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्यामा कुनै धारिलो हतियार प्रयोग नभई चिर्पट, दाउरा वा काठको प्रयोग भएको हुनसक्ने प्रहरीले जनाएको हो ।

शवको प्रकृति हेर्दा लखेटेर मारेको देखिएको र त्यहाँ कुनै धारिलो हतियार भन्दा पनि ‘ब्लन्ट फोर्स’ प्रयोग भएको अनुसन्धानबाट देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनकुमार राईले जानकारी दिए ।

‘शुरुमा काटेको भन्ने थियो‚ तर पछि अनुसन्धान गर्दै जाँदा त्यस्तो देखिएन‚’ उनले भने, ‘घटनामा हतियारभन्दा पनि चिर्पट, दाउरा वा काठ तथा कुनै गह्रुङ्गो खालको फलामको वस्तु प्रयोग भएको हुनसक्ने देखिएको छ ।’

यो पनि : हत्या भएका ६ जनाको शव भोलि मात्र उठाइने

धारिलो हतियारले हान्दा काट्ने‚ तर दाउरा‚ चिर्पटहरूले हान्दा नकाट्ने भएकाले नकाट्ने हतियार प्रयोग भएको पाइएको उनले बताए । शव ३/४ ठाउँमा छरिएर रहेकाले लखेटी लखेटी हत्या गरेको हो भन्ने आधार रहेको प्रहरीले जनाएको छ ।

शवहरू धरान ल्याइँदै
प्रदेश प्रहरी कार्यालय विराटनगर तथा संघीय प्रहरी कार्यालय धरानबाट खटिएको एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोलीले आज बिहानभरि लगाएर शवको मुचुल्का गरिसकेको प्रवक्ता राईले जानकारी दिए ।

मध्याह्न साढे १२ बजेसम्म मुचुल्का गर्न समय लागेको र साढे १ बजेतिर शवलाई धरान ल्याउँदै गरिएको पनि एसपी राईले बताए । ‘मुचुल्का तयार गर्न बिहानभरि लाग्यो,’ उनले मकालुखबरसँग भने, ‘मध्याह्नपछि मुचुल्का सकेर शवलाई धरान पठाउने काम भएको छ ।’

तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धानलाई अघि बढाइएको प्रहरीले जनाएको छ ।

आधाबाटोसम्म ट्याक्टरमा र त्यसपछि गाडी खोजेर ल्याउनुपर्ने भएकाले आज रातिसम्ममा मात्र धरान ल्याइ पुर्‍याइने र भोलिमात्र पोस्टमार्टम हुने एसपी राईले जानकारी दिए ।

आइतबार राति मादी- १ मा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरिएको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव भेटिएको हो ।

घरैमा रहेका ९० वर्षका तेजबहादुरका बुबा भने जीवितै छन् । कान कम सुन्ने र आँखा पनि कम देख्ने उनले आफू साँझमै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नपाएको बताएका छन् ।

घटनाको बारेमा अनुसन्धान गर्न सिआइबीको टोलीसमेत विराटनगर आइपुगेको छ भने डिएसपी रुकमबहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *