बुटवलका मेयरको दुखेसो- ‘समस्याको सम्बोधन गर्न जाँदा पटमूर्खहरूले हात हाले’

काठमडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले स्थानीयहरूको समस्याको सम्बोधनका लागि जाँदा उनीहरूबाटै आफूमाथि मुक्का प्रहार भएको भन्दै दुखेसो पोखाएका छन् ।

गत भदौ १३ गते उपमहानगरपालिकाको वडा नं. ३ स्थित ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो जाँदा दुई दर्जन घरमा क्षति पुगेको थियो । यसपछि करिब ३ सातापछि मात्रै उक्त स्थलमा पुगेका मेयर सुवेदीमाथि स्थानीय गणेश पंगेनीले मुक्का प्रहार गरेका थिए । ‘एउटा पटमूर्खले ममाथि हात हाल्यो,’ मेयर सुवेदीले भने, ‘उनीहरूकै समस्याको सम्बोधन गर्न जाँदैछु, उल्टै मैमाथि हात हाल्छन् । के भनौँ खै ?’

करिब ३ सातापछि मात्रै स्थानीय सरकारका प्रमुख अवलोकनका लागि आएको र आफूहरूको समस्याको सम्बोधन यथोचित रूपमा चाँडो र सही रूपमा नभएको भन्दै चिढिएका स्थानीयहरूले मेयर सुवेदीलाई गालीगलौजसमेत गरेका थिए । ‘आफ्नै जनताहरू हुन्, आफ्नै जिल्लावासीहरू हुन्,’ सुवेदीले भने, ‘कुरा बुझ्दैनन्, नीति बुझ्दैनन् । भन्दा धेरै के भनौँ, नभनौँ भने आफैंलाई निशाना बनाउँछन् ।’

‘सबै समस्याको सम्बोधन गर्दै आएको छु’

मेयर सुवेदी आफूले स्थानीयवासीहरूको समस्याको सम्बोधन हरबखत गर्दै आएको दाबी गर्छन्, भन्छन्— ‘यहाँका जनताहरूको समस्याको सम्बोधन गर्ने स्थानीय सरकारले नै हो । मैले गर्दै पनि आएको छु । मैले सधैं सबैको समस्याको सम्बोधन गर्दै आएको छु ।’

ज्योतीनगर र लक्ष्मीनगरको पहिरोको सन्दर्भमा पनि आफूले सकेजत्ति काम गरेको मेयर सुवेदी सुनाउँछन् । ‘उहाँहरूको समस्यालाई बुझेर पहिलोलगत्तै पनि केही कामहरू गरियो,’ मेयर सुवेदी भन्छन्, ‘त्यो पहिरोको सन्दर्भमा सबै काम स्थानीय सरकारले गर्दै आएको छ । संघीय र प्रदेश सरकारले नहेरे पनि स्थानीय सरकारले यस्ता स्थानीयहरूका समस्याको समाधान गरेकै छ । मैले पनि गर्दै नै आएको छु ।’

पहिरोपीडित तपाईंमाथि जाइलाग्ने के कारणले भयो ? भन्ने मकालुखबरको जिज्ञासामा मेयर सुवेदी भन्छन्, ‘तपाईंहरूले पनि अनि सबैले बुझ्नुपर्ने कुरा के हो भने जनतासँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय तहका जनप्रतिनिधिहरू घर–घरमा समेत पुगेर जनताका समस्याबारे जानकारी लिन्छन् । मैले पनि यही गर्छु । तर, केही पटमूर्खहरूले नबुझेर हात हाल्छन् त म के गरुँ ?’

भिडिओः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *