नेपालको ओमान भ्रमण: बलिङकै भर‚ ब्याटिङ धरमर

काठमाडौँ ।  विश्वकप क्रिकेट लिग टु अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीजका लागि ओमान जाँदा नेपाली टिमसँग एक लक्ष्य थियो ओमानलाई उसकै मैदानमा हराउनु । सधैँजसो जित्दै आएको अमेरिकालाई हराउने आँट त थियो नै नेपाली टिमसँग ओमानलाई पहिलो पटक हराउने अठोट पनि थियो । पछिल्लो समय खेलाडी र प्रशिक्षक परिवर्तन गर्दै बलियो बनेको अमेरिकालाई पनि कम आँक्न सकिने अवस्था थिएन ।

विश्व क्रिकेटमै सफल प्रशिक्षकमा पर्ने डेभ वाटमोर प्रेरित नेपाललाई तयारीकै क्रममा झट्का लाग्यो त्यो थियो टिमका पूर्व कप्तान तथा टिमका लागि ‘मेन्टर’ जस्तै रहेका पारस खड्काको सन्न्यास । प्रतियोगिताको मुखैमा अप्रत्याशित रूपमा पारसले लिएको सन्यासले खेलाडी र स्वयम् प्रशिक्षकलाई पनि झट्का दिएको थियो ।

झरीका कारण काठमाडौँमा मनग्ये तयारी गर्न नपाएपछि हप्ता अघि नै ओमान गएको नेपालले त्यहीँ तयारी र दुई वटा मैत्रीपूर्ण खेल पनि खेल्ने तय थियो । पपुवा न्यूगिनीसँगको मैत्रीपूर्ण खेल अघि नेपाललाई अर्को झट्का लाग्यो त्यो थियो प्रशिक्षक ह्वाटमोरको राजीनामा । गएको डिसेम्बरमा निकै ठुलो सपनासहित भित्र्याइएका ह्वाटमोरले दिएको राजीनामाले फेरि नेपाली टिम र शुभचिन्तकहरूलाई दुखी बनायो ।
दुई ठुला झट्काकाबीच नेपालले ओमान भ्रमण सन्तोषजनक बनाएको छ ।

प्रतियोगितामा नेपालले दुई खेलमा जित निकाल्दा २ खेलमा हार भोग्यो । यस पटक पनि नेपालको भ्रमण उतारचढावपूर्ण रह्यो । औसत ब्याटिङ र कसिलो बलिङका कारण नेपालले ओमान र अमेरिकासँग एक एक खेल जित्यो । अन्तिम खेलमा आइतबार ओमानलाई ७ विकेटको फराकिलो जीत नेपालका लागि प्रतियोगितालाई सुखद र स्मरणीय बनाउने खेल रह्यो ।

भ्रमणमा नेपाल आफूले हराउँदै आएको अमेरिकासँग हार्‍यो भने अहिलेसम्म हराउन नसकेको ओमानलाई हरायो । ओमानलाई नेपालले एकदिवसीमा हराएको यो पहिलो पटक हो भने एक दिवसीयमा अमेरिकासँग हारेको पनि पहिलो पटक हो । यसअघि ओमानले नेपालमै नेपाललाई दुवै खेलमा हराएको थियो । यस पटककै पहिलो खेलमा पनि ओमान नेपालमाथि हाबी भएको थियो ।

८ वर्षपछि ओमानसँगको जितले नेपालका अघिल्ला खेलको खराब लयलाई बिर्सायो । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएपछि उत्साही नेपाल ओमानसँग ५ विकेटले नै पराजित भएको थियो । यो खेलमा ओमानका ब्याट्स्म्यानहरुले नेपाली बलरहरूलाई धुरुक्कै रुवाएका थिए । तर आइतबारको खेलमा नेपाली बलरहरू ओमानका ब्याट्स्म्यानमाथि त्यसैगरी हाबी भए । फलस्वरूप ओमानका सात जना ब्याट्स्यामानले दोहोरो रन जोड्न सकेनन् । यो खेलमा करण केसी र सन्दीप लामिछानेले चार चार तथा शरद केसीले विकेट लिए ।

पछिल्लो समय अमेरिकामाथि निरन्तर रवाफिलो प्रदर्शन गर्दै आएको नेपाल दोस्रो खेलमा भने अमेरिकासँग निरीह नै देखियो । ब्याटिङ लाइन अप चल्न नसक्दा केवल १७४ रनमा नेपाल समेटियो । जवाफमा अमेरिकाले ६ विकेटको जित निकाल्यो । टस जितेर अमेरिकालाई पहिले ब्याटिङ गर्न लगाउने कप्तान ज्ञानेन्द्र मल्लको निर्णय गलत साबित भयो ।

पछिल्लो पटक नेपालले ओमानलाई २०१३ को आईसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को खेलमा पराजित गरेको थियो। त्यसैले पनि नेपालका लागि ओमान विरुद्ध उसकै मैदानमा पराजित गरेको जित अर्थपूर्ण पक्कै छ ।

नेपालले अहिलेको लिग अङ्क तालिकामा आफूलाई चौथो स्थानमा पुर्‍याएको छ । अझै बलिया टिमसँगका खेलहरू बाँकी रहँदा नेपालले ओमानसँग लिन सफल २ अङ्कले स्वाभाविक रूपमा नेपालाई दाबेदारीमा उभ्याउन भने पक्कै सफल भएको छ । नेपालको ८ खेल बाट ८ अङ्क भएको छ । ओमान १३ खेलबाट २० अङ्क सहित शिर्ष स्थानमा छ । नेपाल र नामिबियाको समान ८ अङ्क भएपनि नेट रनरेटमा नेपाल अघि छ ।

लगातार दुई खेलमा पराजित भएपछि नेपाली खेलाडीमाथि अन्तिम खेल र बलियो ओमान विरुद्ध स्वाभाविक दबाब थियो तर नेपाली बलरले ओमानको ब्याटिङ लाइनअप ध्वस्त बनाए । जसले ब्याट्स्म्यानलाई हौसला दियो । केवल १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली ब्याटिङ संयमित रह्यो । कप्तान ज्ञानेन्द्र मल्लले ब्याक टु ब्याक अर्ध शतक प्रहार गर्दा ओपनिङ पनि राम्रो देखिएको थियो । उनी एक दिवसीय अन्तर्राष्ट्रियमा ४ अर्ध शतक बनाउने पहिलो नेपाली खेलाडी पनि नबनेका छन् । तर ओमान विरुद्धको जितको नायक फेरी पनि बलर नै हुन् ।

बलिङमा नेपाल सधैँ अब्बल मानिए पनि ब्याटिङमा भने सधैँ नेपाल अस्थिरताको सिकार छ । महत्त्वपूर्ण प्रतियोगितामा उत्रँदा अधिकांश युवा खेलाडीको विश्वास र उनीहरूले गरेको प्रयासले नेपाली ब्याटिङमा अझै धेरै मिहिनेत जरुरी रहेको स्पष्ट छ। एक दिवसीय खेलमा नेपाली ब्याट्सम्यान अझै पनि कन्फिडेन्स नहुँदा आगामी शृङ्खलामा स्वाभाविक चुनौती भने रहने छ ।

नेपालको ब्याटिङ लाइन अप कमजोर रहेको सङ्केत सर्वाधिक रन बनाउने खेलाडीको सूचिबाट पनि थाहा हुन्छ । नेपालका लागि यो श्रृंखलमा सर्वाधिक रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । उनले ८ इनिङमा २२४ रन बनाएका छन् । उनी लिस्टको १५ औ नम्बरमा छन् । यो सूचिमा ओमानी ब्याट्सम्यानको बाहुल्यता छ । ओमानका अकिब इलियास १० इनिङमा ६१० रन सहित शीर्ष स्थानमा छन् । तर बलिङमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आफूलाई शीर्ष पाँचमा आफूलाई पुर्‍याएका छन् ।

तर आगामी दिनमा नेपाली ब्याटिङलाइन अप थप सुधार गर्नु पर्ने चुनौती एकातिर रहँदा अब प्रशिक्षकको समेत चुनौती नेपाललाई छ । एक वर्षको सम्झौता बिचमा नै छोडेका प्रशिक्षक डेभ ह्वाटमोरले छोडेपछि अब नेपाल क्रिकेट सङ्घ (क्यान) लाई जतिसक्दो चाँडो नयाँ प्रशिक्षक खोज्नु पर्ने चुनौती पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *