पत्रकार देवकोटाले पनि पदक नलिने, वितरण पारदर्शी र विवेकपूर्ण नभएको भनाइ

काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा घोषणा गरेका पदकहरु अस्वीकार गर्ने पत्रकारको संख्या थपिँदो छ । पत्रकार कृष्णज्वाला देवकोटाले पनि पदक अस्वीकार गर्ने बताएका छन् ।

सरकारले गर्ने पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै देवकोटाले पदक अस्वीकार गर्ने घोषणा गरेका हुन् । सरकारले उनलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको थियो । उनले सरकारको निर्णय आफूले ढिलोमात्र थाहा पाएको र पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने नदेखेर नलिने घोषणा गरेको बताएका छन् ।

नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए आफूलाई सामाजिक प्रेरणा नै पर्याप्त भएको बताएका छन् ।

देवकोटाले फेसबूकमा लेखेका छन्ः

ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।

यसअघि पत्रकारहरु हरिबहादुर थापा, नारायण अमृत र कार्टूनिस्ट रविन सायमीले पनि पुरस्कार नलिने घाेषणा गरेका थिए । उनीहरूले सरकारले वितरण गर्ने पदक र विभूषणबाट पारदर्शिता र विवेक नभएको, पञ्चायती तरिका नै अपनाइएको र भागबन्डामा वितरण गर्ने गरिएको भन्दै पदक नलिने बताएका छन् ।

देवकोटा नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *