परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र लिउ हाइसिङबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आज बेइजिङमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समार्फत भेटवार्ता फलदायी रहेको जनाउँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीचको सहकार्य विस्तारका साथै नेपाल र चीनका जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
परराष्ट्रमन्त्री खनाल आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी हितका विविध विषयमा उच्चस्तरीय भेटवार्ता जारी रहेको मन्त्रालयले जनाएको छ ।









