२२ दिनदेखि सडकमै पहिरो पीडित, न राहत न पुनः स्थापना

धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा बेल्चापलानको सडक छेउमा गत वर्ष पनि यही समयमा सोही गाउँपालिकाका पहिरोपीडित त्रिपाल टाँगेर बसेका थिए । महिना दिन भन्दा बढी समय बस्दा पनि चुरे गाउँपालिकाले पुन: स्थापनाको योजना ल्याउन नसकेपछि उनीहरू त्यहाँबाट तराईको जङ्गलमा झरे । अहिले उनीहरू पनि वन मासेर त्रिपालमै बसेका छन् ।

अहिले पनि सोही बेलाको झल्को दिने गरेर सोही बेल्चापलानको सडक छेउमा २४ परिवार त्रिपाल टाँगेर बसेका छन् । वडा नम्बर ५ का काफलगैरा लगायतका बस्तीका पहिरोपीडितहरू अहिले सडक छेउमा रात काट्न बाध्य छन् । भदौ दोस्रो हप्तातिर आएको पहिरोबाट वडा नम्बर ५ का विभिन्न टोलका २४ पहिरोपीडित परिवार बालबालिकासहित सडकमा पुगेका हुन् ।

गत भदौ ९ र १० गते वर्षासङै आएको पहिरोमा परेर त्यहाँ कैयौँ बस्ती विस्थापित भएका छन् । ‘राति सुतेको बेला घर वरिपरि पहिरो आएछ बिहान उठेपछि मात्रै थाह भयो,’ वडा नम्बर ५ काफलगैराका कमल तामाङले भने, ‘घर जोगिएर हामी पनि जोगिन सफल भयौँ । घर वरिपरि पहिरो छ, जग्गा जमिन पनि रहेन ।’ घरसमेत जोखिममा परेपछि सडकमा आएर बस्नुको विकल्प नरहेको उनको दुखेसो छ ।

४८ सालदेखि काफलगैरामै बस्दै आएका ५८ वर्षीय भीमबहादुर तामाङ पनि अहिले आएर सडकमा बस्नुपरेको पीडा सुनाउँछन् । ‘पहिरोले घरबारी नै नराखेपछि अब कहाँ गएर बस्ने चिन्ता छ,’ उनी दुःख पोख्दै भन्छन्, ‘सडकमै त्रिपाल टाँगेर त जिन्दगी चलाउन सकिँदैन । गाउँपालिकाले पनि पुन: स्थापनाबारे कुनै जानकारी गराएको छैन । के हुन्छ थाहा छैन ।’

अहिले चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडी काफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठलगायत बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

दैनिक मजदुरीले जीविकोपार्जन गर्दै आइरहेका पहिरोपीडितले राहतको नाममा त्रिपाल मात्रै पाएको बताएका छन् । अहिले सडकमा आएका काफलगैराका मीनबहादुर तामाङले गाउँपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबाट त्रिपाल मात्र पाएको दुखेसो पोखे । उनले सडकमा बसेपछि खान, बस्न पनि समस्या रहेको बताए । केही दिनअघि नेपाली काँग्रेस गाउँपालिका समितिले चामल, दाल राहत उपलब्ध गराउनुबाहेक अन्य राहत नआएको पहिरोबाट प्रभावितहरूको भनाई छ ।

सडकमा बस्नुभन्दा सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । बासका लागि बनाइएको घर उच्च जोखिममा परेपछि सरकारले उचित वासस्थानको व्यवस्था गर्नुपर्ने  स्थानीय ललित तामाङले बताए । वडा कार्यालयका अनुसार पटक-पटकको पहिरोका कारण वडाभित्रका तीन सय २४ घरधुरी विस्थापित भएका छन् ।

चुरे गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर तामाङले गोपालेका तीन र काफलगैराका आठ गरी ११ घरधुरी उच्च जोखिममा रहेको बताए । अहिले पहिरोबाट प्रभावित भएको भन्दै २४ घरधुरी सडकमा बसेका छन् । तर वडा अध्यक्ष तामाङले विस्थापित भएका घरधुरीलाई अहिले त्रिपाल दिएर सडकमै व्यवस्थापन गरिएको बताउँछन् ।

‘बेल्चापलानमा ११ घर परिवार पहिरोपीडित छन्,’ उनले भने, ‘केही सामान्य क्षति भएकोहरु पनि सडकमै आएर बसेका छन् । यसले गर्दा वास्तविक पीडितलाई पनि राहत बाँड्न र व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

उनले गत वर्ष पनि धेरै गैह्रबाढीपीडितहरु सडकमा आएर बस्दा समस्या भएको बताए । चुरे गाउँपालिकाका विभिन्न वडाबाट पहिरोपीडितको सङ्ख्या हालसम्म तीन सय भन्दा बढी पुगिसकेको छ ।  गाउँपालिकाले उनीहरूको अझै व्यवस्थापन गर्न सकेको छैन । कोही पहाडी क्षेत्रको सडक छेउमा रात काटिरहेका छन् भने कोही तराई क्षेत्रमा पुगेर जङ्गल फडानी गरेर त्रिपाल मुनि नै बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *