आइतबारबाट आईपीएल : कोरोनाबाट जोगिन कडा बायो-बबल

काठमडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो ‘फेज’ आइतबारबाट सुरू हुँदैछ । प्रतियोगितालाई कोरोनाबाट जोगाउन भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कडा नियम लागू गरेको छ । लिगका क्रममा आपत्कालीन स्वास्थ्य सेवा, स्पोर्टस मेडिसिन सर्भिस, स्पेसलिस्ट टेलि कन्सल्टेसन, डाक्डर अन कल, एम्बुलेन्स, एयर एम्बुलेन्स जस्ता सेवाका लागि युएईको भीपीएस हेल्थकेयरलाई साझेदार बनाइएको छ ।

मेडिसिन तथा कोभिड–१९ व्यवस्थापनका लागि १०० सदस्सीय मेडिकल टास्कफोर्स बनाइएको छ । जो खेलाडीका लागि जुनसुकै समय मद्दतका लागि तयार हुनेछन् । हरेक खेलका लागि दुई मेडिकल टीम मैदानमा उपलब्ध हुनेछन् । जसमा डाक्टर्स, नर्स तथा प्यारामेडिक्स तथा ल्याब टेक्नीसियन हुने छन् ।

हरेक तीन दिनमा टेस्ट

दोस्रो फेजमा कम खेल हुने भएर पनि कोभिड टेस्ट भने धेरै हुनेछ । खेलाडीहरू युएई पुग्नुअघि नै अबुधाबीका १४ होटलका ७५० बढी स्टाफको कोरोना टेस्ट गरिएको छ । नयाँ कोभिड प्रोटोकलका बाबजुत सबै खेलाडी तथा अफिसियलको हरेक तेस्रो दिन टेस्ट हुनेछ ।

प्रतियोगिताका दौरान ३० हजार कोरोना टेस्ट हुनेछ । त्यसबाहेक सुरक्षित बायो–बबलका लागि नर्स तथा मेडिकल स्टाफको लिग नसकिँदासम्म तोकिएका १४ होटलमानै राखिनेछ । यी १४ होटलमा आईपिएलसँग रिलेटेड बाहेक अन्यको प्रवेश निषेध गरिने छ ।

आईपीएलमा फर्कँदै दर्शक

दोस्रो चरणको खेलमा मैदानमा दर्शकलाई अनुमति दिइने बीसीसीआईले जनाएको छ । कडा कोरोना प्रोटकलबीच दर्शकलाई मैदान प्रवेश दिइने तयारी छ । बीसीसीआईले कोभिड प्रोटोकल र युएई सरकारको नियमअनुसार दुबई, सारजाह तथा अबुधाबीमा हुने खेलका लागि सीमित मात्रामा सिटी उपलब्ध गराउने जनाएको छ ।

सन् २०१९ पछि आईपीएलमा दर्शक मैदानमा हुनेछन् । गत संस्करणमा कोरोनाका कारण भारतमा प्रतियोगिता नभएपछि सबै खेल युएईमा भएका थिए । यो पटक पनि आईपीएल भारतमा जारी रहँदा कोरोना महामारी बढेपछि दोस्रो चरणका लागि यूएई रोजिएको हो । भारतमा २९ खेल खेलेपछि खेल रोकिएको थियो । बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन् ।

बीसीसीआईका अनुसार आज (शुक्रबार) बाट टिकट बिक्रि सुरु हुने छ। टिकट बुकिङ आईपीएलको आधिकारीक वेबसाइटमा गएर गर्नुपर्ने छ। आईपीएलका सबै खेल दुबई,सारजाह तथा अबुधावीमा हुनेछन् । दोस्रो फेजको पहिलो खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले अर्को दाबेदार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *