रोड्रिगोले रियलको संकट टार्दा लिभरपुलको पुनरागमन 

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानसँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा रोड्रिगोले रियलको संकट टारेका थिए ।

त्यस्तै च्याम्पियन्स लिगकै अर्को खेलमा घरेलु मैदानमा लिभरपुलले एसी मिलानसँग १ गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्यो । सान सिएरो मैदानमा भएको खेलमा रियल म्याड्रिडले समूह ‘डि’ अन्तर्गत भएको खेलमा बुधबार राति इडुवार्डो कामाभिंगाको पासमा रोड्रिगोले आकर्षक भलीमा एक मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्यो ।

पहिलो हाफमा इन्टरले खेल पूरा नियन्त्रणमा राख्नाका बावजुद इडेन जेको र लाउटारो मार्टिनेजका प्रयास सफल नहुँदा पराजित हुन बाध्य भयो । समूहको अर्को खेलमा एफसी शेरिफले शाख्तर डोनेश्कलाई २-० ले हरायो। च्याम्पियन्स लिगमा डेब्यु गरेको शेरिफको पहिलो जित हो ।

एसी मिलानविरुद्ध लिभरपुल विजयी
च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘बी’ को खेलमा इंग्लिस जाइन्ट लिभरपुलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै तीन अङ्क हासिल गर्‍यो । घरेलु मैदानमा इटालियन क्लब एसी मिलानमाथि ३-२ को जित निकाल्ने क्रममा हेन्डरसन निणायक बने ।

खेलको नवौँ मिनेटमा मिलानका फिकायो टोमोरीले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनाएको थियो । १४औँ मिनेटमा मोहम्मद सालाह पेनाल्टीमा चुक्दा लिभरपुलको अग्रता दोब्बर पार्ने मौका गुमेको थियो । पहिलो हाफको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै मिलानले खेलको अवस्था आफ्नो पोल्टोमा पारेको थियो ।

४२औँ मिनेटमा एन्टे रेविचले मिलानलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै ब्राहिम डियाजले बललाई जाली चुमाउँदै मिलानलाई २-१ को अवस्थामा पुर्‍याए । सालाहलेनै पुन लिभरपुललाई खेलमा फर्काउँदै ४९ औ मिनेटमा बराबरी गोल गरे । ६९औँ मिनेटमा हेन्डरसनले गरेको गोल लिभरपुलका लागि निर्णायक बन्यो । समूह ‘बी’  अन्तर्गत नै बुधबारै भएको अर्को खेलमा एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *