प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।

सुनसरीको धरान-६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी श्रीमती ३३ बर्सिया नन्दकुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो । अब, नियमित रूपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’ अहिले सङ्घीय राजधानीमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो ।

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा. दिनेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो । ल्याप्रोस्कोपिक विधिबाट श्रीमतीको बायाँ मिर्गौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा.शाहले जानकारी दिए ।

‘मिर्गौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनै पनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्‍यौँ,’ उनले भने । दुई वर्ष अघिदेखि दुवै मिर्गौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मिर्गौला प्रत्यारोपणपछि अहिले श्रीमान्–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउँछन् ।

उनी भन्छन् ‘मिर्गौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने खाइरहनुपर्छ ।’ नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो ।

स्वास्थ्य सेवा विभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुवै मिर्गौला पूर्ण रूपमा ‘फेल’ भएका बिरामीहरूलाई मिर्गौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मिर्गौला बिग्रिएका बिरामीहरूलाई सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *