सम्झनामा देव बज्राचार्य

काठमाडौँ । सञ्चारकर्मी तथा साहित्यकार नवराज लम्साल र बज्राचार्यको पहिलो भेट न्यानो थियो । रेडियो नेपालमा कार्यरत लम्साल रेकर्डर बोकेर स्वयम्भूमा थिए । उनलाई सन्दर्भ खासै याद छैन‚ तर केही सामग्री निर्माणका लागि त्यहाँ पुगेका थिए । एउटा गम्भीर अनुहारतर्फ उनको रेकर्डर सोझियो । उक्त व्यक्तिले नवराजलाई भने, ‘तपाईँ नवराज लम्साल होइन ?’ अन्य व्यक्ति झैँ नवराजसमेत पुलकित भए ।

‘म देव बज्राचार्य’ उक्त व्यक्तिले नाम नै भन्दा समेत लम्साललाई गीतकार बज्राचार्य र उक्त व्यक्ति एकै भएको छनकसम्म आएन । कुरा बढ्दै जाँदा देव स्वयंले नै आफूले गीत लेख्ने बताए । अरुणा लामा, मधु छेत्री, द्वारिकालाल जोशी लगायतले उनको गीत गाएको र कहिलेकाहिँ आफ्नो शब्द आफैँले पनि गुनगुनाउने बताए । अन्तमा उनले नवराज स्वयम् समेत गीतकार भएकाले यो सब कुरा सुनाएको भन्दै रेकर्ड गरिएको कार्यक्रम प्रसारण हुने दिन र समय मागेर छुट्टिए । यस्तै थियो देवको प्रवृत्ति ।

आजभन्दा ४ वर्षअघि भदौ २८ गते नै देवले अन्तिम सास लिएका थिए । अजर-अमर गीत-संगीत दर्शकका लागि छोडेर उनले संसार छाडेका थिए ।

‘एकलै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ, सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ’ नेपाली गीतसङ्गीतप्रेमी शायदै होलान्‚ जसले यो गीत नसुनेको होस् । अरुणा लामाको स्वर रहको यो सुमधुर स्वरमा गणेश रत्नले संगीत भरेका छन् । २०३६ सालको मङ्सिर २ गते रेकर्ड गरिएको यो गीतमा प्रेममा भोगिने दूरी र विछोडको पीडा देवले समेटेका छन् । उनका अधिकांश गीतहरू पीडा र दुःखका नै देख्न सकिन्छ ।

तीसको दशक (२०३०-४०)मा उनका अधिकांश गीत रेकर्ड भएका थिए । शिमी शर्माको स्वरमा ‘कति दिन बिते’देखि ‘प्रिय तिम्रो मुहारमा हाँसो मैले कैले देखिनँ’ मा भक्तराज आचार्यको स्वर रहेको छ । ‘मेरो आँखाबाट झरेको आँसु’ मधु क्षेत्रीले गएका छन् भने टिपेको फूल सिँगारिदिने मिरा राणाले गएकी छन् । देव स्वयंले समेत आफ्नो रचनामा केही गीतहरूमा आवाज दिएका छन् । ‘केही दिनमै तिमीसँग गहिरो प्रीति बस्यो’ गीतमा उनी स्वयंले स्वर दिएका छन् ।

आज उनको चौथो स्मृति दिवसमा उनीप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *