तालिबानले लगायो महिलालाई पुरुषसँग बसेर पढ्न प्रतिबन्ध

काठमाडाैँ । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ ।

उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन् । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन् ।

सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो । तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

तर गत अगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेको छ । आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झन्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षा सम्बन्धी नीति घोषणा गरिएको हो ।

तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो । पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ । यसअघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला-पुरुष एकै कक्षामा पढ्न पाउँथे ।

पछिल्लो परिवर्तन सम्बन्धी विषयमा हक्कानीले भने, ‘मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन। जनता मुस्लिम हुन् र उनीहरूले यसलाई स्वीकार गर्नेछन् ।’ विश्वविद्यालयहरूसँग महिला र पुरुषका लागि छुट्टै कक्षा उपलब्ध गराउने स्रोत नरहेकाले केहीले पछिल्लो नियमले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने सङ्केत गरेका छन् ।

तर हक्कानीले भने पर्याप्त महिला शिक्षकहरू रहेको र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरिने बताए । ‘यो सबै विश्वविद्यालयहरूको क्षमतामा निर्भर रहन्छ,’ उनले भने । ‘पुरुष शिक्षकहरूलाई पर्दा पछाडिबाट पढाउने गरी प्रयोग गर्न सकिन्छ वा प्रविधिको प्रयोग गर्न सकिन्छ ।’ छात्र-छात्राहरूलाई प्राथमिक र माध्यमिक तहका विद्यालयहरूमा पनि अलगै पढाइनेछ । यस्तो अवस्था विगतमा अफगानिस्तानमा सामान्य थियो । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *