यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

काठमाडाैँ । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ ।

मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ सम्मको विष्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।

काठमाडौंमा पनि यसपाली बढी वर्षा भइसकेको छ। विभागका अनुसार काठमाडौँमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ । मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म एक हजार १७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ । काठमाडौँमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ । चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ ।

प्राप्त विवरणअनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ । सरदर १३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ । कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो । यसपाली दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो । त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ । उनका अनुसार आइतबारसम्म एक हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा एक हजार ९२५ मिलिमिटर पानी परिसकेको छ  ।

मुलुकमा यसपाली औषधभन्दा बढी वर्षा हुने आँकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो । मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पामा, कास्कीमा, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ। सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुउत्थानका कार्य अघि बढाइसकेको छ ।

मनसुनजन्य घटना (बाढीपहिरो र डुबान) का घटनामा मात्रै यसपाली मुलुकभर १३० को मृत्यु भयो भने अझै ४१ जना हराइरहेका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ। उक्त जिल्ला गत वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो । जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदुरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनका आधारमा उक्त निष्कर्ष निकाल्ने गरिन्छ ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिन्छ । यसपाली गएको वैशाखमै आँकलन गरिएको थियो। त्यसमा नेपाल, भारत, म्यान्मालगायत नौ देशका मौसमविद् सहभागी थिए ।

के अब मौसम खुलेकै हो ?
ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ । कर्णाली प्रदेशबाहेक आइतबार धेरै ठाउँमा घाम लागिरहेको छ । के अब मौसम खुलेकै हो त ? यसपालीको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ। त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । अझै विपद् टरिसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्छन्, ‘मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन एक्टिभ भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ ।’ यसपालीको मनसुनका समयमा मुलुकका धेरै जसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । सोहीअनुसार नै वर्षा भएको जनाइएको छ । नेपालमा यसपाली मनसुन दुई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो । आगामी असोज १७ को आसापास मनसुन बाहिरिनेछ । -नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *