बिरामीलाई हेलिकोप्टरकै भर !

काभ्रे । महाभारत पर्वत श्रृंखला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका-५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडौं लगियो ।

लामो ‘ब्यथा’ तथा दिसा पिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूति गृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । उनका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन ।

‘निःशुल्क हवाई उद्धार निर्देशिका-२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनले हालसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिए । उनले भने, ‘लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ ।’

यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका-४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाई चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो । तत्कालीन समयमा उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनु परेको थियो ।

गत वर्षको साउनमै सोही वडास्थित जगथलीको एक गर्भवतीको हेलिकोप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखि ब्यथाले च्यापेपछि उहाँलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकोप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल बताए । ‘गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायामका बेला हेलिकोप्टरको विकल्प छैन’, उनले भने ।

गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका-६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पुर्‍याइयो । तर हेलिकोप्टर रित्तै फर्कनु पर्‍यो । विडम्बना, हेलिकोप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उनको थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनी बच्न सकेनन् ।

वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकोप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।

मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताए । ‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको छ’, उनले भने ।

भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन् । हेलिकोप्टरबाट बिरामी / गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *